logo
२०८० चैत्र १५ बिहीवार

 रिपोर्ट नआउँदै शव दिएकोमा परिवारको विराेध 



नेशनल अस्पताल सिल गर्ने तयारी, घटनाको छानबिन हुने

मुख्य समाचार |
प्रदेश |


नेशनल अस्पताल सिल गर्ने तयारी, घटनाको छानबिन हुने


दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १२ गते । मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका  ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ पाइएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी नेशनल अस्पताल सिल गर्ने तयारी गरेको छ । साथै अन्य कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्ने तयारी सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

कोरोना आशङ्कामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको स्थानीयको गुनासो छ । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिइनुले अस्पतालको कमजोरी देखिएको र त्यस सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो ।

अस्पतालले आइसियू प्यूरिफिकेसन गर्ने भन्दै वार्डमा रहेका २० बिरामीलाई अन्यत्र स्थानान्तरण गरी जेठ ९ गतेदेखि आईसियू वार्ड खाली राखेको छ । सोमबारदेखि प्रहरीले अस्पतालमा बाहिरबाट अस्पतालभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन । रिपोर्ट पोजिटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय, पर्साले निर्देशन दिइसकेको बताइएको छ ।
मृतक वृद्धको उपचारमा संलग्न मेडिकल कलेजका स्वास्थ्यकर्मी र मृतकका परिवारका सदस्य, अन्त्येष्टिमा संलग्न सबैलाई तत्कालै क्वारेन्टाइनमा राख्न भनिएको र उनीहरूको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षीय चौधरी थरका पुरुषमा मृत्यु भएको अाठ दिनपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हाे ।
जेठ २ गते अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषको जेठ ४ गते दिउँसो साढे २ बजे नै उपचारको क्रममा मृत्यु भएको र ४ बजे अन्त्यष्टिको लागि शव परिवारजनलाई जिम्मा लगाइएको थियो ।
नारायणी अस्पतालमा केमिकल अभावमा पिसिआर परीक्षण रोकिएको र ८ गते स्वाब परीक्षण गरिदा शङ्स्कास्पद लागेपछि सुनिश्चितताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाण्डौँमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित जनस्वास्थ्य कार्यालयको सेवानिवृत कर्मचारी ती ७० वर्षीय वृद्धलाई उनका परिवारजनले जेठ २ गते नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा भर्ना गराएर उपचार शुरु गरेका थिए । आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको भएपनि कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते वृद्धको मृत्यु भएको थियो ।
बारा करैया गाउँपालिका वडा नं ७ का उपचारको क्रममा मृत्यु भएका उक्त ७० वर्षीय वृद्धको अन्तिम संस्कार गरिएको ६ दिनपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि मृतकका छोराले अस्पतालले बुबाको शव दिएपछि आफूहरूले धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेको बताउनुभयो । 'अस्पतालले भनेको भए रिपाेर्ट आउञ्जेल कुर्न सकिन्थ्याे नि, अस्पतालका कारण घरपरिवार, गाउँ, टोल सबैतिर भाइरस सङ्क्रमणको जोखिम बढ्यो ।' मृतकका छाेराले भन्नुभयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?