logo
२०८१ बैशाख २२ शनिवार



सुर्खेतमा सङ्क्रमण पुष्टि भएका १२ जना हालै भारतबाट आएका थिए

मुख्य समाचार |
प्रदेश |


सुर्खेतमा सङ्क्रमण पुष्टि भएका १२ जना हालै भारतबाट आएका थिए


ललित बसेल
सुर्खेत, जेठ १३ गते । सुर्खेतमा एकैदिन १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार राती प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा उनीहरूको कोरोना पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएकाहरू सबै गत बिहीबारदेखि भारतबाट आएका हुन् । कर्णाली प्रदेश सरकारका अनुसार यस प्रदेशबाट ८० हजार बासिन्दा मौमसी रोजगारका लागि भारत गएको र अहिले करिब २५ हजार जति आउने अनुमान गरेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका आठ, भेरीगङ्गा नगरपालिकाका दुई र सिम्ता गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का १६ वर्षीय पुरुष, वडा नं. २ का ९, २०, ३२ र ३६ वर्षीय पुरुष तथा ३२ वर्षीया एक महिला, वडा नं. ३ का ४६ वर्षीय पुरुष, वडा नं. ६ का २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

यसै गरी, भेरीगङ्गा नगरपालिका वडा नं. ८ का १६ र १७ वर्षीय पुरुष तथा सिम्ता गाउँपालिका वडा नं. ४ का ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जानकारी उहाँले दिनुभयो । बबई नाका तथा वीरेन्द्रनगरका क्वारेन्टाइनमा राखिएका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना सङक्रमण देखिएको हो । उनीहरू सबैलाई कोरोना विशेष अस्पताल सुर्खेतमा राखिएको छ । यसअघि सुर्खेतका तीन जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरूलाई पनि कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । यो सहित सुर्खेतमा १५ जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा आठ जनामा पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?