logo
२०८१ माघ २३ बुधवार



पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे

मुख्य समाचार |
पढ्नै पर्ने |


पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे
तस्बिर सौजन्य : अम्मर जेठारा ।


शैलेन्द्र रोकाया
बझाङ, असार २० गते । जिल्लाको केदारस्यूँ गाउँपालिका-८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोमा बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो झरेपछि घटना भएको हो ।

राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । स्थानीय सुरेश जेठाराले भन्नुभयो, 'पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता छन् ।' उहाँका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा ४४ वर्षकी रामदेवी जेठारा, उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीया छोरा प्रयाग जेठारा रहेका छन् भने नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० वर्षीय दले जेठारा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, 'सबैभन्दा माथि मेरो घर भएकाले पहिरो आएको थाहा पाएपछि कराएर गाउँमा सबैलाई भाग्न भनेपछि सबै भागेका थिए तर बेपत्ता भएका चार परिवारको घर गाउँको सबैभन्दा तल भएकाले घरबाट भागदौड गर्दा पहिरोले बगाएको हाेला ।' 
अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुईवटा खोलामा पानी बढी भएकाले प्रहरीसमेत जान सकेको छैन । प्रहरी नायब उपरीक्षक गणेश बमसहित सदरमुकाम चैनपुरबाट सशस्त्र प्रहरीको टोलीसमेत त्यस क्षेत्रमा गएको छ । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको स्थानीय नरेश जेठाराले जानकारी दिनुभयो । क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?