logo
२०८१ फाल्गुन २६ सोमवार

  सामुदायिक वनको सफलता  



हामी पनि फोटो खिच्न जाऔँ सेल्फी रोडैमा (फोटो फिचरसहित)

मुख्य समाचार |
प्रदेश |


हामी पनि फोटो खिच्न जाऔँ सेल्फी रोडैमा (फोटो फिचरसहित)


हरि कोइराला
पथरी शनिश्चरे(मोरङ), साउन २ गते । ‘लाग्दैन धुलो गोडैमा एमजी रोडैमा’ भारतको सिक्किममा छायाङ्कन भएको यो गीत युवा पुस्ताको मुखैमा झुण्डिएको छ । सुन्दा कर्णप्रिय लाग्ने उक्त गीतको छायाङ्कन गर्न भारत किन पुग्नुपर्यो ? मोरङको पथरी शनिश्चरे-२ का जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म प्रश्न गर्न थालेका छन् ।

पथरीशनिश्चरे-२ का वडासदस्य पर्शुराम न्यौपानेले भन्नुभयो, 'एमजी रोडभन्दा कम छैन, हाम्रो सेल्फीरोड ।' उहाँले सेल्फीरोडमा पनि धुलो नलाग्ने तर्क गर्नुभयो । देशमा बन्दाबन्दी केही खुकुलो भएसँगै तीन सातायता मोरङको पथरी शनिश्चरे-२ को सेल्फीरोडमा फोटो खिच्नेको भीड लाग्न थालेको छ ।

पूर्वपश्चिम राजमार्गको सुनझोडा पूल पश्चिमपट्टिबाट दक्षिणतर्फ लाग्ने ११ सय मिटर लामो कालोपत्रे सडक साँच्चिकै सुन्दर छ । सडकको पूर्वपश्चिम चौतारी सामुदायिक वनले हुर्काएको सालको जङ्गल छ । एकनासका बिरुवा, खुला जङ्गल । फोटो साँच्चै सुन्दर आउँने बताउनुहुन्छ, टेलिभिजन पत्रकार गोपाल काफ्ले । फोटोग्राफरबाट टेलिभिजन पत्रकारिता सुरु गर्नुभएका काफ्लेले भन्नुभयो, 'तीन सातायता यहाँको भीड देख्दा हामी मात्र होइन, पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरू पनि केको भीड रहेछ ? भनेर गाडी सेल्फीरोडतिर मोड्छन् ।'

सर्वसाधारण मात्र होइन । स्थानीय जनप्रतिनिधि, दलका नेता र कलाकारहरू पनि फोटो खिच्न त्यहाँ पुग्ने गरेका छन् । स्थानीय ८२ वर्षीय माधवप्रसाद निरौलाले भन्नुभयो, 'सधैँ सुनसान हुने सडकमा फोटो खिच्नेको लस्कर देख्दा छक्क परेको छु ।'

सडकमा सेल्फी खिच्नेको भीड बढेपछि पथरी बजारका कुल्फी, आइसक्रिम र चटपटे व्यापारीहरू सेल्फीरोडतिर पसल थाप्न थालेका छन् । आइसक्रिम व्यापारी अजित अधिकारीले भन्नुभयो, 'बजारमा भन्दा यता दोब्बर व्यापार हुन्छ । बजारमा दैनिक १५ सयको बिक्री हुन्थ्यो । यता आएपछि चार हजार सम्मको बिक्री भइरहेको छ ।'

कानेपोखरी– ६, बिहीबारेबाट चटपटे व्यापार लिएर सेल्फीरोड पुग्नुभएकी सुनीता तामाङले भन्नुभयाे, 'पथरी बजारमा मुस्किलले दुई सयको व्यापार हुन्थ्यो । यता हरेक दिन पाँच सयको व्यापार भइरहेको छ । पानी नपरेको दिन त आठ सयसम्म व्यापार हुन्छ । अधिकारी र तामाङले व्यापार सुरु गरेपछि अहिले सो क्षेत्रमा १५-१६ व्यापारीले पसल थाप्न थालेका छन् ।

एकाएक सेल्फीरोड चर्चामा आएपछि पथरीशनिश्चरे – २ ले रोडको दुवैतर्फ बस्ने बेञ्च राख्ने तयारी गरेको छ । वडासदस्य पर्शुराम न्यौपानेले भन्नुभयो, 'दुवैतर्फ फलामका बेञ्च राख्ने, डस्टबिनको व्यवस्था गर्ने र शौचालयको प्रबन्ध मिलाउने तयारीमा वडा कार्यालय लागेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?