स्मीता अधिकारी
पोखरा, साउन ४ गते । बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ । बाँध पुरानो भएर फुट्ने सम्भावना बढ्दै गएपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पोखराले बेगनास ताल बाँध तथा आसपासको नहरसमेत मर्मत थालेको हो ।
जलस्रोत डिभिजन कार्यालयको बेगनास सिँचाइ प्रणाली कार्यक्रमअन्तर्गत यो काम थालिएको हो । २०४६ सालमा चीनको सहयोगमा सिँचाइ कार्यालयले उक्त बाँध बनाइएको थियो । यसअघि बाँधको फेदमा पानीको सिपेज देखिएको थियो । त्यसैगरी, तालको पानीको छाललाइ छेक्न बाँधको किनारमा राखिएका ढुङ्गाहरू पनि बिस्तारै कम हुँदै जान थालेपछि बाँध फुट्ने र आसपासका बस्ती डुबानमा पर्नसक्ने सम्भावित जोखिम रोक्नका लागि मर्मत गर्न लागिएको जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताउनुभयो ।
बेगनास ताल पोखराको फेवातालपछिको ठूलो यस प्रदेशकै गहिरो ताल हो । यो तालको सुन्दरतासमेत वृद्धि, तालमा फोहोर गर्ने क्रियाकलाप रोकिइने र पर्यटकको सुरक्षाका लागि पनि बेगनास तालको बाँध मर्मत सम्भार अति आवश्यक भएको उहाँले बताउनुभयो ।
यहि कोरोना लकडाउनकै बीच उक्त योजना कार्यन्वयन शुरु भएको हो । बाँध मर्मतका लागि अहिले त्यहाँ भएका ढुङ्गाहरूमा अन्य ढुङ्गा पनि थप गरी जाली बिछ्याउने, ढलान गर्ने, तालको पानि निकास हुने नहरमा रेडिमिक्स गर्ने लगायतका काम भइरहेका छन् । तालको पानि निकास हने मोहोरिया, किमबेसी, खुदी बेसी लगायतका ठाउँमा रहेका नहरहरू पनि मर्मत गरिएको छ । यसका लागि गत वर्ष ठेक्का भएको थियो । कैलाश पर्वत निर्माण सेवा प्रालिले उक्त बाँध मर्मतको ठेक्का पाएर काम गरिरहेको छ ।
जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख आचार्यका अनुसार एक करोड २५ लाख रुंपियाँको लागतमा उक्त बाँध मर्मत सम्भार गर्न लागिएको हो । यो काम नयाँ आर्थिक वर्षको पहिलो चौमासिकभित्र सम्पन्न हुने पनि प्रमुख आचार्यले जनाउनुभयो । यो योजनाको स्थानीय अनुगमन स्थानीय बेगनास जलाधार सिँचाइ उपभोक्ता समितिले गरिरहेको छ ।