केशवराज पौडेल
काठमाडौँ, साउन ५ गते । बुधबारसम्म काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने भएकाले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
‘आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले पूर्वसूचनासमेत दिएका छौँ’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताउनुुभयो ।
उहाँले काठमाडौँ तथा आसपासको क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको बताउनुभयो । यो वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावको कारणले समस्या देखिएको उहाँले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्का, मध्यम वर्षा तथा भारी हुने जानकारी दिएको छ । यो क्रम बुधबारसम्म निरन्तर रुपमा चल्ने प्रधानाङ्गले बताउनुभयो ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाको समेत सम्भावना रहेकाले सो क्षेत्रमा बस्ने स्थानीयलाई सुरक्षित रहन उहाँले अनुरोध समेत गर्नुभयो ।
नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था भएकाले खतरा बढेको जनाएको छ ।
२४ घन्टामा तीनको मृत्यु
नेपालका विभिन्न जिल्लाहरूमा २४ घन्टाको बीचमा तीन जनाको ज्यान गएको छ । यो समयमा १२ स्थानमा पहिरो, चार स्थानमा अविरल वर्षा, दुइ स्थानमा बाढी र एक स्थानमा आगलागीसमेत भएकाे छ । यो समयमा तीन जनाको मृत्यु, एक जना बेपत्ता र १२ स्थानमा सडक अवरुद्ध भएका छन् ।
कास्कीको घारेढुङ्गामा अत्यधिक वर्षा
राष्ट्रिय विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका २२२ वटा वर्षा मापन केन्द्रमा वर्षाको मापन गरिएको छ । केन्द्रहरूमा मापन गरिएकोमध्ये सबैभन्दा धेरै कास्की जिल्लाको घारेढुङ्गामा १६९ मिलिमिटर वर्षाको मापन गरिएको छ ।
बर्सादको समयमा एक सय मिलिलिटरभन्दा धेरै वर्षा भयो भने भारी वर्षा भएको मानिनेछ । २४ घन्टामा मापन गरिएको वर्षा अनुसार तीन ओटा केन्द्रमा १५० मि.मी.भन्दा धेरै २३ वटा केन्द्रमा एक सयभन्दा मि.मीभदा धेरै ८७ केन्द्रमा ५० मि.मीभन्दा धेरै र १३१ केन्द्रमा २५ मि.मी.बढी र १५६ वटा केन्द्रमा १० मि.मी.भन्दा बढी वर्षा मापन गरिएको हो ।
नदीमा आकस्मिक बहाव बढ्नसक्ने
सोमबार नारायणी नदी तथा त्यसका सहायक नदीहरूमा पानीको बहाव उच्च विन्दुमा पुगेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका अधिकांश नदीहरूमा बहाव बढेर खतराको सङ्केत वरपर पुग्ने आकलन गरिएको छ ।
पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुुटा, उदयपुुर, सप्तरी, सिरहा धनुुषासँगै प्रदेश नंम्बर २ सबै जिल्लाहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
काठमाडाैँ उपत्यका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप,नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, तनहुँमा भारी वर्षा हुने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यी जिल्लाहरूमा रहेका साना नदीहरूमा पानीको बहाव उच्च विन्दुमा पुुग्ने भएकाले सर्तक रहन आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।
मनसुन सुरु भएको एक महिनामा १३१ को मृत्यु
असार १ देखि भदौ ३० गतेसम्मलाई मनसुन मानिन्छ । यो समयमा बाढी, पहिरो र चट्याङको कारण ठूलो जन धन क्षति हुने गरेको छ । असार १ देखि साउन ४ गतेसम्ममा नेपालमा बाढी, पहिरो र चट्याङको कारण १३१ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सबैभन्दा धेरै पहिरोको कारणले ज्यान गएको छ । यो एक महिनाको समयमा पहिरोमा पुरिएर १११ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अझै ४३ जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोमा पुरिएर ८७ जना गम्भीर घाइते भएका छन् ।
एक महिनाको समयमा बाढी बगाउँदा तीन जनाको ज्यान गएको छ । बाढीमा परेर पाँच जना अझै बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनमा उल्लेख छ । एक महिना नै चट्याङ लागेर १७ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएको प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।