दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ९ गते । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पाँच जना भारतीयसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएकाे छ ।
बिहीबार राति अबेर आएको पीसीआर परीक्षणको रिपाेर्ट अनुसार वडा प्रहरी कार्यालय, श्रीपुरको थुनुवाकक्षमा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो ।
नयाँ भेटिएका सङ्क्रमितहरूमा पाँच जना थुनुवा कक्षमा रहेका भारतीय नागरिक, छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५, भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३, सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । नयाँ फेला परेका सङ्क्रमितहरूमा नाै महिने शिशुदेखि ६० वर्षीय महिलासम्म रहेको बताइएकाेछ । जसमध्ये सात महिला, २५ जना पुरुष रहेको उहाँले बताउनुभयो ।
नयाँ फेला परेका सबै ३२ जना सङ्क्रमितलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. सिंहले बताउनुभयो ।
पाँच जना थुनुवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय, श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । भारतबाट गत शुक्रबार अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले गोरखापत्रलाई बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निरीक्षक जयमोद ठाकुरले दैनिकरुपका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको दाबी गर्नुभयो । कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमित ओसारपसार, नमुना सङ्कलनलगायत काममा पर्साका विभिन्न सरोकारवाला निकायसँग राम्रो सहकार्य हुन नसकेकाले परीक्षण र बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा ढिलाइ भइरहेको ठाकुरले बताउनुभयो ।
गण्डक अस्थायी कोभिड अस्पतालमा रहेका सङ्क्रमितमध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र पाँच जना आइसीयूमा उपचाररत रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ४५ जना सङ्क्रमित उपचाररत रहेकोमा अब यो सङ्ख्या बढेर ७७ हुने भएको छ ।
यसअघि पनि पर्सामा १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । जसमध्ये एक जनाको मृत्युपछि कोरोना रिपोर्ट पाेजिटिभ आएको थियो ।