logo
२०८१ बैशाख ८ शनिवार

  वीरगञ्जमा काेराेना  



आइतबार मृत्यु भएका वृद्धमा सङ्क्रमण पुष्टि, उपचाररत चारको अवस्था गम्भीर

मुख्य समाचार |
प्रदेश |


आइतबार मृत्यु भएका वृद्धमा सङ्क्रमण पुष्टि, उपचाररत चारको अवस्था गम्भीर


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ११ गते । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा बसोबास गर्दैआएका ६५ वर्षका वृद्धको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको र आइतबार साँझ आएको पीसीआर रिर्पोटमा कोरोना सङ्क्रमण देखिएको डा. निरजकुमार सिंहले पुष्टि गर्नुभयो ।
आइतबार मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या आएपछि शनिबार नारायणी अस्पतालको ईमरजेन्सीमा भर्ना गरी उपचार थालिएको पछि थप उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको र शनिबार राति ८ बजे आरडिटी पोजिटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार सुरु गरिएको थियो ।
मृत्यु भएका वृद्ध व्यापारी रहेको र उनी पहिले देखिनै मुटु र मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा. निरज कुमार सिंहले बताउनुभयो । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमा नै रहेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो ।
यसअघि गएको शुक्रबार पनि आरडीटी पोजिटिभ आएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । उक्त युवतीको मरणाेपरान्त पीसीआर परीक्षणमा कोरोना सङ्क्रमणको पोजिटिभ रिपोर्ट आएको थियो । पर्सामा कोरोनाका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । बाराका तीन र पर्साका तीन जना हुन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक सङ्क्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।

अझ उपचाररत चार सङ्क्रमितको अवस्था गम्भीर
वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको डा. निरजकुमार सिंहले बताउनुभयो ।
चारै जनालाई आईसियूमा अक्सिजन दिएर राखिएको छ, अवस्था जटिल नै छ केही भन्न सकिँदैन, तीन जना ६० वर्षभन्दा माथिका र एक जना ३४ वर्षका रहेका छन्, डा. सिंहले भन्नुभयो । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पाँच जना शङ्कास्पद सङ्क्रमितहरूको समेत अवस्था जटिल रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?