दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १२ गते । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आएको रिपाेर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध, आठ स्वास्थ्यकर्मीसहित पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
सङ्क्रमित हुने स्वास्थ्यकर्मीहरूमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी, गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी, एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी रहेका छन् । त्यस्तै गरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिनमा रहेका २३ तथा २८ वर्षीय महिला स्वास्थ्यकर्मी र ३७, ४२, ४५ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।
अन्य नयाँ फेला परेका सङ्क्रमितहरूमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका, वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् । वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष, पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी, पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सा जिल्लामा यसअघि २४२ जना सङ्क्रमित फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना सङ्क्रमणका लक्षणसमेत रहेको अस्पतालले जनाएको छ । चार जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २८ जना सङ्क्रमित घरमै रहेका थिए भने आइतबार पुष्टि भएका १८ जना पनि आइसोलेसनमा ल्याइसकिएको छैन ।
सिद्धार्थ माविमा रहेको प्रि आइसोलेसनमा लक्षण नदेखिएका सङ्क्रमित राख्ने गरी तयारी गरिएको र आज साँझसम्म सबै सङ्क्रमितहरूलाई सिद्धार्थ मावि र गण्डकस्थित कोभिड अस्पतालमा राखेर उपचार सुरु गरिसकिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो ।
पर्सागढी नगरपालिकाका स्वास्थ्य केन्द्रहरू बन्द
एउटा स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी रहेको पर्साको पर्सागढी नगरपालिकाका एकजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब सङ्कलन गरी र रिपोर्ट नआउञ्जेल स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो ।
बिरुवागुठी, हरपुर, पचरुखी, बागेश्वरी तित्रौना, बागवन्ना स्वास्थ्य चौकीका ४० जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको र सोको परीक्षण रिपोर्ट नआईञ्जेल सेवा बन्द गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताउनुभयो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको परीक्षण रिपोर्ट नआउन्जेल सेवा बन्द गरिएको र रिपोर्ट आएपछि सेवा सुचारु हुने उहाँले बताउनुभयो । पर्सागढी नगरपालिकामा बागवन्ना र बागेश्वरी तित्रौनामा सञ्चालित बर्थिङ सेन्टरमा आकस्मिक सेवा प्रदान भइरहेको छ । पिपिई लगाएर स्वास्थ्यकर्मीले गर्भवती महिलाहरूलाई आकस्मिक सेवा प्रदान गरिरहेको संयोजक पञ्जियारले जानकारी दिनुभयो ।