logo
२०८१ मंसिर ८ शनिवार

  लकडाउन अघि र पछि संक्रमण दर  



सङ्क्रमण बढेन: सरकार, निचोडमा पुग्ने बेला भएको छैन: विज्ञ

मुख्य समाचार |


सङ्क्रमण बढेन: सरकार, निचोडमा पुग्ने बेला भएको छैन: विज्ञ


इश्वरचन्द्र झा
काठमाडौँ, साउन १२ गते । सरकारले पूर्ण रुपमा लकडाउन खुलेको सार्वजनिक गरेको करिब साता दिन बित्न लागेको छ । तर आम मानिस हिँडडुल गर्न उद्योग व्यवसाय र निजी सवारी सञ्चालन गर्न खुला गरिएको एक महिना बढी भयो ।
लकडाउन खुलेपछि दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा भारी वृद्धि हुने अनुमान गरिएको थियो । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परीक्षण र सङ्क्रमित हुनेको तथ्याङ्कले लकडाउन खुलेको पछिल्लो पाँच दिनमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा ठूलो अन्तर नआएको देखिएको छ । तर विज्ञहरूले लकडाउन खुलेपछि पहिलेकै मापदण्ड बमोजिम क्वारेन्टिनमा बस्ने वा कामको लागि परीक्षण आवश्यक पर्नेकै मात्र परीक्षण गरेर त्यसमा मात्र सीमित रहेर निचोडमा पुग्नुले ठूलो दुर्घटना निम्ताउन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउन खुल्नुअघि र पछि त्यत्तिकै सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षण गर्दा पनि लकडाउन खुल्नुले सङ्क्रमित हुनेको सङ्ख्यामा ठूलो अन्तर देखिएको छैन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन २ गतेदेखि छ गतेसम्मको औसत सङ्क्रमण दर ३.२ प्रतिशत रहेको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद्ले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेको थियो । साउन ७ गतेदेखि ११ गतेसम्मको औसत सङ्क्रमण दर ३.३ प्रतिशत पाइएको छ । सङ्ख्यात्मक रुपमा साउन २ गतेदेखि साउन ६ गतेसम्म १९ हजार ९८९ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जसमा ७५० जना सङ्क्रमितको पुष्टि भएको थियो ।
लकडाउन खुलेपछि साउन ७ गतेदेखि ११ गतेसम्म १८ हजार ६५५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ६१९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सङ्ख्यात्मक रुपमा लकडाउन अघि र पछिको पाँच दिनमा करिब एक हजार पाँच सयले परीक्षण कम गरिएको छ । मन्त्रालयको तथ्याङ्क बमोजिम लकडाउन खुल्नुअघि भन्दा लकडाउन खुलेपछि सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ । लकडाउन खुल्नुअघिको पाँच दिनमा ७५० जना सङ्क्रमितको पुष्टि हुँदा पछिको पाँच दिनमा ६१९ जनामा मात्रै पुष्टि भएको हो ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले लकडाउन खुलेको साता दिन नपुग्दै तथ्याङ्क विश्लेषण गरी नीति बनाउनु गलत हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लकडाउनको बेला र खुलेपछिको अवस्थाका फरक समूहलाई परीक्षण गरेपछि मात्रै यथार्थ आउँछ ।” उहाँले थप्नुभयो, “सङ्क्रमण परिपक्व भई पुष्टि हुने अवस्थासम्म पुग्न कम्तीमा पाँचदेखि दश दिन लाग्ने भएकोले तात्कालै विश्लेषण गर्नु अनुपयुक्त हुनेछ ।”
लकडाउन खुलेपछिको अवस्थामा पनि परीक्षण नियमितझैँ गरिएको छ । अशिक्षित वर्ग, जनघनत्व बढी भएको शहर, साँघुरो गल्ली, बहु उपभोक्तासम्म पुग्ने व्यक्ति तथा सुरुमा परीक्षण नै नगरी घर पठाइएको क्वारेन्टिनका व्यक्ति र समुदायमा परीक्षण गरेर मात्रै यथार्थ तस्बिर आउने उहाँ बताउनुहुन्छ ।
लकडाउन खुलेपछि कोरोनाको सङ्क्रमण समुदायमा फैल्ने जोखिम उच्च रहने हुँदा विज्ञहरूले यसप्रकारको तर्क गर्छन् । तर नेपालमा कोभिड–१९ का अधिकांश सङ्क्रमितको पुष्टि विदेशबाट आएर क्वारेन्टिनमा रहेकोमा मात्रै देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलर भन्नुहुन्छ, “सङ्क्रमण पुष्टि दर ३ देखि १२ प्रतिशतसम्म हुनुलाई साधारण मानक मानिएको छ ।”
विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक एकजना सङक्रमित पुष्टि हुँदा कम्तीमा अर्को १० देखि ३० जनामा परीक्षण हुनुपर्ने मानक बनाएको छ । डब्ल्युएचओको परीक्षणसम्बन्धी सबै मानकमा नेपालको अवस्था सन्तोषजनक देखिएको छ । यद्यपि लकडाउन खुलेको अवस्थामा परीक्षणको दायरालाई समुदाय स्तरमा व्यापक बनाउनुका साथै हुनसक्ने सम्भावित जोखिमका लागि स्वास्थ्य पूर्वाधार पूर्ण तयार राख्नु नै बुद्धिमानी हुने डा. पाण्डे सुझाव दिनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?