नगेन्द्रकुमार कर्ण
जलेश्वर, साउन १४ गते । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका दश नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित हुनुभएको छ ।
स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताउनुभएकाे छ । त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी उहाँले दिनुभयो ।
केही दिनअघि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिनुभयो । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।
त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित हुनुभएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँ केही दिनअघि मात्रै वीरगञ्जबाट आउनुभएको थियो भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आउनुभएको फोकल पर्सन झाले जानकारी दिनुभयो ।
त्यस्तै, भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भन्नुभयो, ‘योसहित अहिलेसम्म जिल्लामा ८५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’
कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं. ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका श्रीमती र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेको जानकारी उहाँले दिनुभयो । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।
यसैबीच, जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रुपमा पीसीआर गराउने निर्णय गरेकाे छ । साथै पीसीआर परीक्षणमा सङ्क्रमण देखिएकाहरूलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।