logo
२०८१ बैशाख ६ बिहीवार



पर्सामा बुधबार एक सङ्क्रमितको मृत्यु, अन्य चारको अवस्था गम्भीर

मुख्य समाचार |
प्रदेश |


पर्सामा बुधबार एक सङ्क्रमितको मृत्यु, अन्य चारको अवस्था गम्भीर


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १४ गते । नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान एकजना उपचाररत काेराेना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज-५, रेशमकोठी निवासी ६८ वर्षीय सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको कोभिड विशेष अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले पुष्टि गर्नुभयो ।
मुटुरोगीसमेत रहेका सङ्क्रमित पछिल्लो पाँच दिनदेखि कोभिड विशेष अस्पतालको आइसीयूमा भर्ना गरी उपचाररत रहेकाेमा बुधबार बिहान पौने ११ बजे निधन भएको डा. सिंहले बताउनुभयो ।

नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड विशेष अस्पतालको आइसीयूमा उपचाररत थप चार जनाको अवस्था गम्भीर रहेको उपचारका खटिनुभएका चिकित्सक डा. निरजकुमार सिंहले बताउनुभयो । यस अस्पतालमा काेराेना सङ्क्रमणकाे शङ्का गरिएका दुई जना बिरामीकाे समेत उपचार भइरहेको छ । उनीहरूको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।

पर्साका हालसम्म सङ्क्रमितको सख्या ३०७ पुगेको र ६१ जनाको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचार भइरहेको तथा करिब ८० जना अस्पतालमा बेड अभाव हुँदा अस्पताल नआई केही क्वारेन्टाइनमा र केही होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरले बताउनुभयो ।
पर्सामा हालसम्म एक भारतीयसहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । मङ्गलबार वीरगञ्जबाट कोरोना जितेर पाँच जना सङ्क्रमित सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
बुधबार मृत्यु भएका ६८ वर्षीय सङ्क्रमितको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?