नवराज कट्टेल
विराटनगर, साउन २१ गते । कोशी अस्पताल विराटनगरमा बुधबार मोरङका थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । अस्पतालमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुष र उपचारका लागि भर्ना गर्ने क्रममा रङ्गेली–८ निवासी अर्का पुरुषकाे मृत्यु भएको हो । दुवै जनाको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । कलेजोमा समस्या भई पेटमा पानी जमेर उपचारका लागि मङ्गलबार अस्पताल भर्ना भएका विराटनगरका पुरुषको दिउँसो साढे १ बजे मृत्यु भएको थियो ।
यसै गरी रङ्गेलीका पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । दुवै जनाको मृत्युपछि मात्रै स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएकाे मेसु दासले जानकारी दिनुभयो ।
कोशी अस्पतालमा यसअघि सोमबार विराटनगर–५ निवासी ७७ वर्षीय पुरुषको मृत्यु भएको थियो । यसै गरी मोरङ सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता निधन भएको थियो ।
मोरङमा मात्रै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।