कैलाश लामा
चरिकोट, दोलखा, भदौ १ गते । दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक मन्दिर आसपास महत्वपूर्ण जीव लिँडेमुसा रहेको पाईएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर –१ स्थित बुकेनी, घ्याङडाँडा र टुटुवान आसपासको क्षेत्रमा हिमाली पर्यावरणको हिसाबले महत्वपूर्ण वन्यजन्तु लिँडेमुसा पाइएको हो ।
चौरी किसान किछिरी शेर्पाले उक्त क्षेत्रमा चौरी चराउन जाँदा लिँडेमुसा भेटिने गरेको बताउनुभयो । उहाँले हल्का रातो रङ्गको अन्य भन्दा अलि फरक चरित्रको आकर्षक मुसा भिरको कुनाकुनामा देखिने गरेको बताउनुभयो ।
लिँडेमुसाले हिमालमा पाइने विशालु बिरुवा सजिलै पचाउने र त्यसबाट अन्य जीवलाई दुर्घटनामा बचाउने गर्छ । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवा, फ्याउरो, मलसाप्रो तथा शिकारी चराहरूको आहारको रुपमा लिने लिँडेमुसालाई जैविक विविधताको कोसेढुंगा प्रजाति भनेर चिनिने गरिन्छ ।
हिमाली क्षेत्रको विकटता र कठोर पद्धतिमा मानव इतिहासको निम्ति पहिला पटक जानकारीमा आएका केही जीवहरू मध्ये साना स्तनधारी जीव मध्येको लिँडेमुसा एक रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विष्णु पाण्डे बताउनुहुन्छ ।
उहाँका अनुसार लिँडेमुसा उत्तरी गोर्लाद्धमा युरेसिया, हिमालयन शृङ्खला (नेपाल, भारत, भुटान, पाकिस्तान, चीन लगायत) को हिमालय, तिब्बती पठार, क्यानडा र संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिम भाग लगायतका चिसो वातावरण रहेका क्षेत्रहरुमा पाइन्छ । चिसो उचाइ र हिमाली क्षेत्रमा पाइने संसारका सबै लिँडेमुसाका प्रजाति समान प्रकृतिका देखिन्छन् । लिँडेमुसा लागोमोफोरा (खरायो प्रजाति ) वर्ग) मा पर्दछ । यसलाई ठूटे खरायो समेत भनिन्छ । करनबहादुर शाह र हेमसागर बरालको ‘‘नेपालका स्तनधारी वन्यजन्तुहरु’’ पुस्तकका अनुसार नेपालमा सात प्रजातिका लिँडेमुसाहरु पाईन्छन् । बाहिरबाट हेर्दा भाले र पोथी छुट्टाउन नसकिने, हिउँदको निम्ति वर्षा ऋतुमा आफ्नो दुलोमा खाना (घाँसपात) सञ्चय गर्ने, जाडो मौसममा ठूलाठूला ढुंगाहरूमा तपश्वीजस्तै हलचल नै नगरी घाम तापेर बस्ने, करीब एक सय ८० देखि दुई सय ग्रामसम्म तौल हुनु लिँडेमुसाको साधारण चरित्र हो ।
ससाना पंक्षीहरूको आश्रयस्थल र मासांहारी जीवहरूको आहारा बनेर यसले हिमाली पारिस्थितिक प्रणालीको जैविक र खाद्यचक्र महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको संरक्षण अधिकृत पाण्डे बताउनुहुन्छ ।
करिब चार सय ७० देखि पाँच सय ८० लाख वर्षअघि खरायो समूहबाट छुट्टिएर लिँडेमुसाका पुर्खा पृथ्वीमा विकास भएको अवशेषहरूको अनुसन्धानले देखाएको छ । आनुवंशिक अध्ययनले नेपालको हिमालय क्षेत्रमा ४० देखि ८० लाख वर्षअघि लिँडेमुसा आइपुगेको देखाएको छ । नेपालमा सुदूरपश्चिमको अपि हिमालको खामा औषधिको रूपमा प्रयोग हुने गरेको छ भने लाङटाङमा लामा भनेर पुजिन्छ ।
हिमाली क्षेत्रका बासिन्दाहरुले यस जीवलाई देवताको सन्तानको रुपमा मान्ने र यसको शिकार गरेमा हिमाली देवदेवताहरु रिसाई तुरुन्त त्यस क्षेत्रमा भवितव्य आउने जनविश्वास समेत रहेको छ ।
संरक्षण अधिकृत पाण्डेका अनुसार कालिञ्चोक क्षेत्रको अलावा लिँडेमुसा दोलखा जिल्लाका श्यामाको लेक, मार्वुको लेक, खारेदेखि रोल्वालिङ उपत्यका, लप्ची उपत्यका तथा विगु, थिङसाङ भञ्ज्याङ क्षेत्र लगायतका २५ सय मिटरदेखि पाँच हजार मिटरसम्मका हिमाली खर्कहरुमा भेटिएको छ ।