लक्की चौधरी
काठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२ बजे सकिएको थियो । दुवै अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्नुभएको छ । प्रतिवेदनलाई थप छलफलका लागि आगामी शनिबार १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।
नेकपाका दुई अध्यक्षद्वारा गठित कार्यदलले गत शनिबार ६ गते प्रतिवेदन बुझाएपछि तीन दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको हो । प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि स्थायी कमिटी बैठकमा समेत छलफलका लागि कार्यदलको प्रतिवेदन लैजाने दुई अध्यक्ष सहमत हुनुभएको छ । कार्यदलले आठ दिन लगाएर १६ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।
प्रतिवेदनअनुसार अध्यक्ष ओली प्रधानमन्त्रीमा पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री रहने र अर्का अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको जिम्मेवारी निर्वाह गर्ने प्रस्ताव गरेको छ । सञ्चारविज्ञ बजगाईंकाअनुसार सचिवालय बैठक १३ गते बिहान ११ बजेका लागि बोलाउने सहमति भएको छ ।