लक्की चौधरी
काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने सङ्कल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो सङ्कल्प लिने निर्णय गर्नुभएको हो ।
प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरूलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामर्थ्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।
प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरू ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्क्ति सचेत हुने प्रतिबद्धता अध्यक्षद्वयले गर्नुभएको छ ।
उहाँहरूले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्दछौँ ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, पद्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरूले प्रस्तावमा भन्नुभएको छ, “फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौँ ।” पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।
प्रस्तावमा, “पार्टी भित्रको अन्तरविरोधले गर्दा हुनगएको क्षतिलाई पारस्परिक विश्वास, सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने सङ्कल्प गर्दछौँ, स्वस्थ एवम् गतिशील पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो ।” पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न अध्यक्षद्वयले पार्टी पङ्तिलाई आव्हान गर्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने विषयमा कार्यदलले दिएको प्रतिवेदनअनुसार दुई अध्यक्ष सहमत हुनुभएको छ । उहाँहरूले तयार गर्नुभएको प्रस्तावमा भनिएको छ, “अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने, अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने ।”
त्यस्तै, पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गो लगाउने विषयमा पनि दुई अध्यक्ष सङ्कल्प गर्नुभएको छ । उहाँहरूको प्रस्तावमा भनिएको छ, “अहिलेसम्म पनि एकता–एकीकरणका कतिपय महत्त्वपूर्ण कामहरू समेत सम्पन्न हुनसकेका छैनन् । फरक–फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमिले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरूबीच बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका सङ्गठनात्मक विषयहरूमा सहमति हुन नसक्ने जस्ता समस्याले एकीकरण प्रक्रियामा अनपेक्षित विलम्ब हुनपुगेको छ ।
कार्ययोजना र समय तालिकाभित्र रहेर प्राथमिकताका साथ एकीकरणका बाँकी काम सम्पन्न गर्ने ।”