चन्द्रप्रकाश शर्मा
पोखरा, भदौ २९ गते । पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी बिस्तृत अध्ययन प्रतिवेदन बुझाउनुभएको हो ।
पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालको ऐतिहासिक पृष्ठभूमीदेखि वर्तमान अवस्था, फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत समेटेर प्रतिवेदन तयार गरिएको नगरप्रमुख मानबहादुर जिसीले बताउनुभयो ।
विस्तृत अध्ययन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेवाताललाई संरक्षण गर्नु सबैको दायीत्व भएकाले त्यसकालागि स्थानीय सरकार र प्रदेश सरकासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँनुभएको नगरप्रमुख जिसीले बताउनुभयो । ‘हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं, प्रतिवेदन बुझेपछि फेवातालको अतिक्रमणलाई छिटो भन्दा छिटो हटाउँन संघीय सरकारले आवश्यक साथ र सहयोग दिने बताउँनुभएको छ ।’ नगरप्रमुख जिसीले भन्नुभयो ।
फेवाताल पोखरा महानगरपालिकाको गौरवको विषय भएकाले यसको संरक्षण र सम्बद्र्धनका विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको नगरप्रमुख जिसीले बताउनुभयो । सर्वोच्च अदालतको आदेशमा फेवातालको सिमा कायम गर्ने अधिकार संघीय सरकारलाई दिएको र त्यसमा निर्माण भएका संरचना हटाउँने जिम्मा प्रदेश सरकार र स्थानीय सरकारलाई दिएकाले सोहीअनुसार काम अगाडि बढाइने जिसीले बताउनुभयो ।