अमृतप्रसाद पौडेल
बेनी, भदौ ३० गते । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ ।
यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।
ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामी गएको वैशाखदेखि हालसम्ममा ४१ जना अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा सात जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । बेनी नगरपालिकाका पाँच जना, मङ्गला गाउँपालिकाका एक जना र बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
विगतमा परीक्षण नहुने भए पनि म्याग्दीमा शङ्कास्पद बिरामी देखिएकाले अहिले स्क्रब टाइफसको किट मगाएर परीक्षण गर्दा रोग पत्ता लागेको बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताउनुभयो । “लक्षण देखिन्छ, परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्क्रबको औषधि चलाउँदा निको हुने पनि गरेको छ ।” उहाँँले भन्नुुभयो । यसका बिरामीको समयमै पहिचान हुन सकेमा उपचार सम्भव हुने भए पनि पहिचान हुन ढिला भए मृत्युदर उच्च रहने उहाँको भनाइ छ ।
बेनी अस्पतालका सूचना अधिकरी सुवेदीका अनुसार १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गले काम नगर्ने र आन्तरिक रक्तस्राव यसका मुख्य लक्षण देखिने हुँदा घर वरपरको झाडीलगायत सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उपाय हो ।
आन्तरिक रक्तस्रावसम्मको जटिल प्रकृतिको समस्यासहित डेङ्गु र स्क्रब टाइफसका बिरामीसमेत बेनीमा आएका र केही उपचारपछि ठीक भएका र केहीलाई थप उपचारका लागि ठूला अस्पतालमा रिफर गरिएको डा. घिमिरेले बताउनुुभयो ।