logo
२०८१ बैशाख ८ शनिवार



‘परमाणु हतियार खर्च मानवतामा लगाऔँ’

मुख्य समाचार |


‘परमाणु हतियार खर्च मानवतामा लगाऔँ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पारमाणविक हतियारमा खर्च हुने वित्तीय स्रोतलाई दिगो विकास लक्ष्य हासिल गर्न समग्र सुरक्षा र मानवताको भलाइका लागि लक्षित गर्नुपर्ने बताउनुभएको छ । पारमाणविक हतियारको पूर्ण उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको स्मरणार्थ बसेको उच्च स्तरीय बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले तत्काल आणविक हतियारको पूर्णरूपमा अन्त्य नभएसम्म संसार लामो समयसम्म कहिल्यै सुरक्षित हुन नसक्ने स्पष्ट गर्नुभयो ।
“आणविक विस्फोट चाहे दुर्घटनाले होस् वा जानिबुझी भएको होस् आँखा झिम्क्याउन नपाउँदैको समयमा धेरैकोे ज्यान लिन सक्छ,” उहाँले चेतावनी दिनुभयो । वर्तमान महामारीको कारण भएको विनाशलाई सङ्केत गर्दै उहाँले खोपका लागि भइरहेको वैज्ञानिक दौडले कोभिड–१९ विरुद्धको युद्ध जित्ने आशालाई जीवित राखेको बताउनुभयो । “तर कुनै खोपले हामीलाई आणविक प्रकोपबाट जोगाउने छैन”, उहाँले तर्क गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले आणविक र जन विनाशकारी हतियारको सीमितता, सामान्य र पूर्ण निःशस्त्रीकरणका लागि नेपालको तर्फबाट आह्वान गर्नुभयो । आणविक प्रविधिलाई स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व बढाउन र जीवन रक्षा र शान्तिमय उद्देश्यका लागि उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आणविक ऊर्जाको शान्तिमय उपयोगको चर्चा गर्दै एउटै सिक्काका दुई पक्षका रूपमा पूर्ण निःशस्त्रीकरणको व्याख्या गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको सत्रको अन्तिमतिर आयोजित कार्यक्रममा १५ जना राष्ट्र प्रमुख तथा सरकार प्रमुख, ६४ मन्त्रीसहित कुल ११० जना वक्ताले आफ्ना धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?