logo
२०८१ मंसिर ६ बिहीवार



सीमाक्षेत्रमा अपराध नियन्त्रणका लागि नेपाल-भारत सुरक्षा अधिकारीहरूको समन्वायात्मक बैठक

मुख्य समाचार |
राजनीति |
प्रदेश |


सीमाक्षेत्रमा अपराध नियन्त्रणका लागि नेपाल-भारत सुरक्षा अधिकारीहरूको समन्वायात्मक बैठक


शिवशङ्कर मिश्र
बारा, असोज १९ गते । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसँगै भारतमा आगामी नोभेम्बरमा हुन गइरहेको राज्यविधान सभाको निर्वाचनलाई लक्षित गर्दै सोमबार नेपाल-भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक बाराको कलैयामा सम्पन्न भएको छ ।
बैठकले आगामी नोभेम्बरमा भारतमा हुन गइरहेको राज्यविधान सभाको निर्वाचनमा तीन दिन बोर्डर सिल गरी यातायात र मानिसको आवतजावत बन्द गर्ने, सीमावर्ती इलाकाको सुरक्षा अवस्थाको विश्लेषण, सीमा स्तम्भ तथा दशगजा क्षेत्रमा रहेका समस्या र समाधानका उपायहरू, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सूचनाको आदानप्रदान, सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायहरू, विश्वव्यापी समस्याको रुपमा रहेको कोभिड नियन्त्रण तथा रोकथामका लागि चालिएका राम्रा कदमहरूको आदानप्रदान गरी समन्वयात्मक रुपमा अगाडि बढने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।
बैठकमा भारतसँग सीमा जोडिएको बारा, पर्सा, रौतहट, चितवन, पूर्व नवलपरासी र पश्चिम नवलपरासी जिल्लाको खुला सीमा नाकाहरूबाट हुने तस्करी तथा अपराध नियन्त्रणका लागि दुवै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको छ ।
सीमाक्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुल्झाउन प्रयास गर्ने र दुवै पक्षबाट आ–आफ्नो ढङ्गले केन्द्रलाई जानकारी गराउने सहमति गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी बैठकमा नेपालको प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगञ्ज भन्सारका समस्या र त्यसको समाधानका लागि अवलम्वन गर्नुपर्ने उपाय तथा भारतसँग सीमाक्षेत्रमा जोडिएका पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तथा वन पैदावारको संरक्षणका लागि दुवै देशले अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा समेत छलफल भएको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले बताउनुभयो ।
नेपाल भारत समन्वयात्मक बैठकको नेपालको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट पश्चिम चम्पारणका डिएम सिर्सद कपिल अशोकले गर्नुभएको थियो ।
बैठकमा नेपालका पर्सा, बारा, रौतहट, चितवन, पूर्वनवलपरासी, पश्चिम नवलपरासी गरि छ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, छ जिल्लाकै प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षक, जिल्लास्थित राष्ट्रिय अनुसन्धानका प्रमुखहरू, राष्ट्रिय निकुञ्जका वार्डेन, भन्सार प्रमुखहरूको सहभागिता रहेको थियो भने भारतको तर्फबाट पूर्वचम्पारण, पश्चिमचम्पारणका डिएम, एसएसवी फोर्सका जिल्ला स्थित कमाण्डर, विहार प्रहरीका अधिकृतहरू लगायत अन्य भारतीय सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?