logo
२०७९ असोज १२ बुधवार



हाइड्रोपावर मात्र होइन, अब हाइड्रोजन

अर्थ |


हाइड्रोपावर मात्र होइन, अब हाइड्रोजन


गोपालचन्द्र सुवेदी

काठमाडौँ, कात्तिक २३ गते । जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ । पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली, उद्यमशीलता प्रवर्धनदेखि विदेश निर्यात गरेर समृद्धि हासिल गर्ने योजनामा सरकार तथा सरोकारवाला लागिरहँदा यसै चक्रको बीचबाट हाइड्रोजन उत्पादन र त्यसको खपत तथा निर्यातको सम्भावना देखिएको छ तर त्यसको उपयोगितामा सरकार तथा सरोकारवालले यथेष्ट गृहकार्य भने गर्नुपर्ने देखिएको छ ।
मुलुकभित्र विद्युत् उत्पादनको गति बढ्दै जाने तर आन्तरिक खपत तथा निर्यातको अवसर कमजोर देखिँदा उत्पादित बिजुली खेर जाने अवस्था सन्निकट छ । सरकारले पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा काम गरिरहेको छ तर यो सबै विद्युत्को सदुपयोगका लागि नेपालमै हाइड्रोजन उत्पादन नयाँ सम्भावना बनेको छ । एसियाली विकास बैङ्क (एडीबी)को केही महिनाअघिको अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ । एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रबल छ ।
सबैभन्दा हलुका ग्यास हाइड्रोजन अत्यन्तै प्रभावकारी ऊर्जा संवाहक हो । मानन्धरका अनुसार हामीले प्रयोग गर्ने एलपी ग्यासभन्दा हाइड्रोेजनमा दोब्बरभन्दा धेरै ऊर्जा घनत्व रहन्छ । एक केजी हाइड्रोजनले २० युनिट विद्युत् प्रवाह गर्छ । हाइड्रोजनबाट पुनः विद्युत् उत्पादन गर्न प्रयोग गरिने उपकरण फ्युलसेलको दक्षता बढ्दै जाँदा यो ३०  युनिटसम्म पुग्नसक्छ ।

हाइड्रोजनको उत्पादन र खपत
हाइड्रोजन उत्पादनको सैद्धान्तिक आधार शताब्दी पहिले नै तय भइसकेको पाइन्छ तर खजिन इन्धनको उपयोगिताको व्यापकताले गर्दा हाइड्रोजनको उपयोगितामा खासै ध्यान पुुगेको थिएन । काठमाडौँ विश्वविद्यालयका प्राडा भोला थापाका अनुसार पछिल्लो एक दशकमा भने विश्वमा यस विषयमा धेरै प्रयास भइरहेको छ । उहाँका अनुसार यस पद्धतिमा पानीबाट जलविद्युत्निकाल्ने र त्यही विद्युत् प्रयोग गरेर पानीलाई खण्डीकरण गरिन्छ । इलोक्ट्रोलाइजर प्रयोग गरेर पानीमा रहेको हाइड्रोजनको अंश छुट्याएर सिलिन्डरमा भण्डारण गरिन्छ ।
हाइड्रोजनको खपत ठूला उद्योगमा उच्च क्षमताको ऊर्जा आवश्यकता परिपूर्तिका लागि भइरहेको छ । रासायनिक मल तथा रासायनिक कारखाना, खानी उत्खनन तथा प्रशोधन, विद्युतीकरण तथा सवारीसाधनमा समेत यसको खपत हुने गरेको छ ।
अध्ययनअनुसार अहिले विद्युतीय सवारीसाधनको प्रचलन उच्च रहेकामा ब्याट्रीमा ऊर्जा भण्डार गर्दाभन्दा हाइड्रोजनमार्फत सवारीसाधन चलाउन उच्च क्षमता प्राप्त हुन्छ । हलुका सवारीसाधनका लागि विद्युतीय ब्याट्री प्रभावकारी भइरहे पनि तारविहीन स्वच्छ ऊर्जायुक्त विद्युतीय रेल तथा लामो दूरीका ठूला सवारीसाधन सञ्चालनका लागि हाइड्रोजन बढी उपयोगी साबित हुने अध्येता मानन्धरर प्रा. थापाको मत छ । हाइड्रोजन हलुका तर उच्च क्षमतायुक्त हुन्छ । ब्याट्रीको भार बोक्नुभन्दा ठूला सवारीसाधनलाई हाइड्रोजन बोक्ने रफ्युलसेलका माध्यमबाट विद्युत् बनाएर इन्जिन चलाउन सहज हुने देखिन्छ, मानन्धरले भन्नुभयो । प्रा. थापाका अनुसार कतिपय गाडी निर्माता कम्पनीले यस्तो सवारीसाधन विकास गर्ने योजना बनाइसकेका छन् ।

नेपालमा सान्दर्भिकता
नेपालमा हाइड्रोजन उत्पादनको सान्दर्भिकता खासगरी विद्युत् उत्पादनसँगै जोडिने देखिएको छ । नेपालको ऊर्जा खपतको प्रवृत्तिमा उतारचढाव धेरै छ । खासगरी पिक र अफ पिक आवरको खपतमा हुने फरकले विद्युत् खेर जाने अवस्था छ । एडीबीको अध्ययनले सङ्केत गरेअनुसार राति तथा अफ पिकको समयमा खेर जाने विद्युतलाइ हाइड्रोजन उत्पादनमा लगाउन सके विद्युत् खेर पनि नजाने र नयाँ ऊर्जा हाइड्रोजन पनि प्राप्त हुने भएकाले यो नेपालका लागि बहुउपयोगी हुनसक्छ । सो अध्ययनका अध्ययनकर्तामध्येका एक एडीबी दक्षिण एसियाका कार्यक्रम अधिकृत पुष्कर मानन्धर भन्नुहुन्छ, “खेर जाने बिजुलीलाई सदुपयोग गर्न नेपालका लागि उत्तम विकल्प हाइड्रोजन उत्पादन हो । ”
उहाँका अनुसार सन् २०२५ सम्ममा नेपालमा तीन हजार मेगावाट विद्युत् उत्पादन थप हँुदा ४० प्रतिशतसम्म विद्युत् खेर जाने अवस्था आउन सक्छ ।  २० प्रतिशत मात्र खेर जाने बिजुली हाइड्रोजन उत्पादनमा लगाउने हो भने ०.०६ मेट्रिक टन, ३० प्रतिशत हो भने ०.१ मेट्रिक टन र ४० प्रतिशत हो भने ०.१३ मेट्रिक टन हाइड्रोजन उत्पादन हुनसक्छ ।
डा. थापाका अनुसार नेपालमा बढी भएको बिजुलीको उपयोगका लागि मात्र नभएर अरू प्रयोजनका लागि पनि निकट भविष्यमै हाइड्रोजन अत्यावश्यक हुनेछ । के अब हामीले आफ्नै मल कारखाना नबनाउने ? के फलाम खानी नचलाउने ?, उहाँ भन्नुहुन्छ, “अब राज्यका विभिन्न निकाय तथा सरोकारवालाले यसको व्यावसायिक उत्पादन तथा बजारीकरणका लागि तयारी गर्ने बेला आएको छ । अन्यथा अहिले खाडीको तेल किनेजस्तै हाइड्रोजन किन्ने नियति आउन सक्छ । ”स्वतन्त्र ऊर्जा उत्पादक, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगमजस्ता निकायले अब हाइड्रोजन उत्पादन बजारीकरणमा सोच्ने बेला आएको उहाँको भनाइ छ ।
नेपाल सरकारले स्वच्छ ऊर्जा उत्पादनलाई नै प्राथमिकता राख्दै आएको छ । त्यसो त समग्र ऊर्जा प्रणालीको स्थिरता र दिगोपनका लागि ऊर्जा सम्मिश्रणको अवधारणा ल्याएको छ । स्वच्छ ऊर्जाका विभिन्न स्रोतको सन्तुलित विकास गर्ने र त्यसबाट समग्र ऊर्जा प्रणालीमा स्थिरता ल्याउन सरकारले प्रयास गरिरहेको छ । यसैअनुसार विद्युत् उत्पादनमा साना तथा लघु जलविद्युतदेखि जलाशययुक्त जलविद्युत् आयोजना सौर्य विद्युत् आयोजना बनाउँदै लगेको छ ।

प्राधिकरणलाई नै हाइड्रोजन आवश्यक
प्रा. थापाका अनुसार हाइड्रोजन उत्पादन अब नेपाल विद्युत् प्राधिकरणजस्ता निकायलाई पनि आवश्यक हुनेछ । विद्युत् निर्यातको प्रयासमा मुलुक जुटिरहेका समयमा आयातकर्तालाई अविच्छिन्न विद्युत् प्रवाह गर्न हाइड्रोजन प्लान्ट अपरिहार्य हुने उहाँ बताउनुहुन्छ । प्राधिकरणले खेर जाने बिजुलीलाई हाइड्रोजन बनाउन उपयोग गर्ने र विद्युत् आपूर्तिमा अनपेक्षित समस्या आएमा हाइड्रोजनबाटै पुनः विद्युत् निकालेर प्रणालीमा आपूर्ति गर्न सकिन्छ । यस्तो व्यवस्था गर्नसके सम्झौताअनुसार विद्युत् निरन्तर दिन सकिन्छ र जरिवाना तिर्नुपर्ने अवस्थाबाट बच्न पनि सकिन्छ,” प्रा. थापा भन्नुहुन्छ ।
नेपालमा चालू अवस्थामा रहेका जलविद्युत् आयोजनाले आफ्नो उत्पादन क्षमताको करिब १० प्रतिशत जगेडामा राखेका हुन्छन् । त्यस्तो क्षमतालाई पनि हाइड्रोजन उत्पादनमा प्रयोग गर्दा आयोजनाको क्षमता भएको लगानीको थप प्रतिफलसमेत प्राप्त हुने भएकाले आयोजना प्करले पनि यस विषयमा सोच बनाउनुपर्ने बेला अएको प्रा. थापा बताउनुहुन्छ ।

के हुँदै छ प्रयास ?
काठमाडौँ विश्वविद्यालयले शैक्षिक प्रयासका अतिरिक्त नीति निर्माता तथा सरोकारवालाबीच चर्चाको विषय बनाउने गरी ग्रिन हाइड्रो ल्याब स्थापना गरेको छ । हाइड्रोजन उत्पादनलाई व्यावसायिक स्वरूप दिनेगरी केही योजना पनि केयूले गरिरहेको प्रा. थापाको भनाइ छ । नमुनाका रूपमा आयोजना बनाउने गरी उसले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग र बुटवल पावर कम्पनीसँग छलफल पनि गरिरहेको छ ।
केन्द्रसँग उसको प्रवर्धनमा बनेको कुनै लघु जलविद्युत् आयोजनाको विद्युत् हाइड्रोजन उत्पादन प्लान्ट बनाउने गरी छलफल भइरहेको छ । त्यस्तै बुटवल पावर कम्पनीको स्वामित्वमा प्युठानमा रहेको झिमरुक जलविद्युत् आयोजनामा पनि हाइड्रोजन प्लान्ट स्थापना गर्ने विषयमा छलफल चलाइरहेको उहाँ बताउनुहुन्छ ।
जानकारका अनुसार २० वर्ष पहिले नै भोटेकोसी जलविद्युत् आयोजना निर्माणमा जुट्न लाग्दा नर्वेजियन लगानीकर्ताले हाइड्रोजन प्लान्ट पनि बनाउने गरी सम्भाव्यता अध्ययन गरेका थिए तर नीतिगतलगायत अन्य व्यवधान आउने देखेर लगानीकर्ताले त्यो प्रयासलाई स्थगित गरेका थिए । त्यसो त करिब १५ वर्ष पहिले नै पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले पनि नेपालमा हाइड्रोजन उत्पादन सम्भव भएको निष्कर्ष निकालेको प्रा. थापा बताउनुहुन्छ ।

 


प्रा. डा. भोला थापा
काठमाडौँ विश्वविद्यालय

नेपालले अब हाइड्रोजन उत्पादनलाई नीतिगत व्यवस्था गरेर कार्ययोजनाका रूपमा अगाडि बढाउनुपर्छ । हामीले यो विषयमा आमचासो जगाउने र राजनीतिक तथा कर्मचारीतन्त्रमाझ यस विषयमा लबिङ पनि गरिहरहेका छौँ । हामीले अहिले खाडीको तेल खरिद गरे जसरी नै खाडीमा नेपालको हाइड्रोजन बेच्न सक्नेसम्मको भिजन अब देख्नुपर्छ । अहिले कम चासो दिइएको होला तर अबको पाँच वर्षमा नेपालले एक तहको बाटो समाइसकेको हुनुपर्छ । अहिले पनि तीन रुपियाँ प्रतियुनिटको बिजुली प्रयोग गरेमा हाइड्रोजन उत्पादन व्यावसायिक रूपले सम्भव हुने देखिन्छ । नेपालले यसलाई नयाँ अवसरका रूपमा प्रयोग गर्न आजैदेखि पहल थाल्नुपर्छ । ढिला गर्नुहुन्न ।


पुष्कर मानन्धर
वरिष्ठ आयोजना अधिकृत, एसियाली विकास बैङ्क, दक्षिण एसिया विभाग

नेपालमा हाइड्रोजन उत्पादन सम्भव मात्र होइन आकर्षक नै छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । खेर जाने बिजुली र प्रकृतिमै रहेको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादनमा जानेगरी अब नीतिगत व्यवस्था हुनुपर्छ । अहिले प्रविधि केही महँगो छ । स्वदेशी लगानीले सम्भव नभएर विदेशी लगानी आकर्षित गरेर पनि प्लान्ट स्थापना गर्न सकिन्छ । विश्वमा यससँग सम्बन्धित प्रविधिमाथि अनुसन्धान र विकास जारी छन् । यसबाट प्रविधि तथा उपकरण अझै सस्तो हुँदै जान्छ । एडीबीले पनि नेपालको सम्भाव्यता कसरी उपयोगमा ल्याउने भन्ने विषयमा थप अध्ययन विमर्श गर्नुपर्छ भन्ने मेरो मत छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?