logo
२०८१ मंसिर ११ मंगलवार

  दृश्य समाचार  



मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै

मुख्य समाचार |
पर्यटन |


मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै
भरतपुरको ज्ञानेश्वरको नारायणी नदीमा निर्माण गरिएको मिनि पानीजहाज


शालिग्राम नेपाल
चितवन, मङ्सिर २१ गते । नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी हाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो ।
मिनि पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले निर्माण पूरा भइसकेकाले उद्घाटनको दिन जुर्ने बितिकै तयारी पूरा गरेर सञ्चालन गर्ने बताउनुभयो ।
देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकाले मिनि पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । कँडेलले भन्नुभयोे, ‘क्रुजशीप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’ अहिले पानीजहाजलाई अन्तिम रंगरोगन दिने काम भइराखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गर्नुभएकाले समय नपाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गतवर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि प्रमुख अतिथिको समय नमिल्दा उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो ।
मन्त्रीदेखि पार्टीका नेता तथा विभिन्न उच्चपदस्थ व्यक्ति चितवन आउँदा पानी जहाज हेर्न आउने गर्नुभएको छ । अतिथिहरुलाई जहाज चढाएर यसको अनुभव गराउँदै आए पनि खुला रुपमा सञ्चालन भने गर्न नपाएको प्रबन्धक कँडेलले बताउनुभयो । गृहमन्त्री रामबहादुुर थापा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरुले पानीजहाजको अवलोकन गरिसक्नुभएको छ ।
भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भएको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करिब ३५ करोड रुपैयाँ लागत लागेको जनाइएको छ । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।
क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा शयर गर्न चाहनेहरुले ब्रेकफाष्टसँगै क्रुजको मज्जा लिनेछन् । अपराह्न क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुजमा हुने जनाइएको छ । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु हुने यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । एकपटकमा दुई सयजनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, एकसय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजको भुइँतला वातावरण अनुकुलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कम्पनीले जनाएको छ । क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेली प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको एक दशमलब आठ किलोमिटर प्रतिघण्टाको गति रहनेछ । क्रुज निर्माण २०७५ चैतबाट थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?