logo
२०८१ श्रावण ११ शुक्रवार



सपथसँगै मन्त्रिमण्डल विस्तार हुने, जसपा र माधव समूह समेट्ने प्रयास

मुख्य समाचार |


सपथसँगै मन्त्रिमण्डल विस्तार हुने, जसपा र माधव समूह समेट्ने प्रयास


लक्की चाैधरी/सपना थामी 
काठमाडौं, वैशाख ३१ गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार २ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानु भएपछि पहिलो चरणको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्री को को बन्ने विषयमा टुङ्गो लागि नसके पनि पहिलो चरणमा पुरानै केही मन्त्रीहरु पुनः दोहोरिने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) लाई समेट समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नु भएपनि माधव पक्षबाट नाम आइपुगेको छैन । त्यसबारेमा टुङ्गो लगाउन सो पक्षका नेताहरुको बैठक चलिरहेको छ । अपरान्ह दुई बजेअघि त्यसबारेमा टुङ्गो लागिसक्ने नेकपा (एमाले) कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लाग्नु भएको भए पनि कोको मन्त्री भन्ने भन्ने टुङ्गो लागि नसकेको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले बताउनुभयो ।

“प्रधानमन्त्रीले सबैलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा हुनुहुन्छ तर नेता नेपाल र जसपा पक्षबाट नाम आइसकेको छैन” उहाँले भन्नुभयो, “सम्भवतः आज दुई बजे भित्रमा दुवै पक्षबाट केही नामहरु आउनसक्छ भन्ने हाम्रो विश्वास छ ।” दुवै तर्फका नेताहरुसँग प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श गरिरहनुभएको तामाङले जानकारी दिनुभयो ।

जसपाका केन्द्रीय कार्यकारी समितिका सदस्य केशव झाले पहिलो चरणमा जसपा सरकारमा सहभागीता नजनाउने बताउनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारमा सहभागी हुनेमा हामी सकारात्मक छौं तर माग मुद्दा सम्बोधन नगरी सरकारमा जाँदैनौं, सरकारमा गएपछि माग सम्बोधन गराउन सकिदैन ।” प्रधानमन्त्री ओली माग सम्बोधनमा सकारात्मक रहनु भएपनि केही दिन पर्खने उहाँले बताउनुभयो ।

त्यसैगरी माधव पक्षका नेताहरुले पनि पहिलो चरणमै मन्त्रीमण्डलमा जाने कि नजाने विषयमा निर्णय गर्न गाह्रो मानिरहनुभएको छ । आफूहरुको माग सम्बोधन गराउने पहिलो प्राथमिकता रहेकाले सरकारमा सहभागीभन्दा माग सम्बोधन गराउनमा आफूहरुको ध्यान रहेको सो पक्षका नेताहरुको भनाई छ । यद्यपि शीर्ष तहमा विहिबार भएको छलफल करिब सहमतिको मिलनविन्दुमा पुगिसकेकाले सरकारमा उहाँहरु आउने निर्णय गर्नुहुने विश्वास नेता तामाङले गर्नुभयो ।

संविधानको धारा ७६ को उपधारा (४) ले नवनियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्न गर्नुपर्ने व्यवस्था गरेकाले नेता नेपाल र जसपा महन्थ ठाकुर पक्षबाट पनि सरकारमा सहभागीता हुने कार्यालय सचिव तामाङले बताउनुभयो ।

उहाँकाअनुसार संविधानले ३० दिनभित्र उल्लेख गरेपनि त्योभन्दा अगावै बहुमत पुग्ने अवस्थामा विश्वासको मत लिन सकिने बताउनुभयो । विश्वासको मत छिटो लिनका लागि पनि दुवै पक्षबाट सरकारमा सहभागी हुने तयारी भएको उहाँले दावी गर्नुभयो । पहिलो चरणमा दुवै पक्षबाट सरकारमा सहभागी नभएमा पनि प्रधानमन्त्रीले केही पुरानै अनुहारबाट विस्तार गर्नुहुने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?