logo
२०८० चैत्र १६ शुक्रवार

  चाडवाडसँगै पकेटमारको बिगबिगी बढ्दै  



शिक्षित युवादेखि महिला संलग्न, बैंक सपिङमलदेखि सुन पसल निशाना

मुख्य समाचार |


शिक्षित युवादेखि महिला संलग्न, बैंक सपिङमलदेखि सुन पसल निशाना


काठमाडौं, असोज २० गते । धेरैले पकेटमारी भन्ने वित्तिकै सार्वजनिक यातायातका क्षेत्रमा हुने घटना भन्ने बुझ्छन्, तर हालैका केही घटनाले पकेटमारहरु सार्वजनिक यातायातमा मात्र होइन बैंक, सपिङ मल, गहना पसललगायत धेरै पैसाको कारोबार हुने ठाउँमा हुने गरेको पाइएको छ । अहिले दशैं, तिहार नजिकिएको छ, यस्तो बेला तपाईं जहाँकहीँ पाकेटमारको निगरानीमा हुन सक्नुहुन्छ ।

राजधानीमा केही दिन अघि प्रहरीले पकेटमा तह लगाउन एक अभियान नै थाल्यो सो अभियानका क्रममा २०७ जना पकेटमार पक्राउ परे । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा पकेटमारहरुले सार्वजनिक यातायातका साधनमा मात्र होइन ठूलो परिमाणमा नगद कारोबार हुने जुनसुकै स्थानमा उनीहरुको उपस्थिति हुने गरेको तथ्य फेला परेको छ । उनीहरुले सङ्गठित रुपमा एक जनाले बैंकमा कसले कति रकम झिक्यो भन्ने निगरानी गर्ने र तत्कालै नजिक रहेको अर्कोलाई सङ्केत वा आफ्नै साङ्केतिक भाषामा जानकारी गराउने र उसले फलो गर्दै गएर सार्वजनिक यातायातमा यात्रा गर्दा वा एकान्त स्थानमा पुगेर लुट्ने गरेको पनि पाइएको छ । त्यसैले सार्वजनिक यातायातमा चड्दा मात्र होइन बहुमूल्य सामानको कारोबार गर्दा पनि पकेटमारबाट सावधान हुनुपर्ने प्रहरीको भनाइ छ ।

बैंक, सपिङ मल, गहाना पसललगायत धेरै पैसाको कारोबार हुने ठाउँ पनि पाकेटमारको निगरानीमा हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले बताउनुभयो । पाकेटमारको निगरानी हुन सक्ने भन्दै उहाँले कारोबार गर्दा सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पाकेटमारहरु ठाउँ–ठाउँमा हुन्छ,” एक अर्कालाई इसारा गर्दै पाकेट मार्ने गरेको उहाँको भनाइ छ ।

महिला पनि पकेटमार
हालै प्रहरीले सार्वजनिक बस, सपिङ मलहरुमा पाकेट मारेको आरोपमा २०७ जना पाकेटमारलाई पक्राउ गरी अनुसान्धान थालेको छ । पक्राउ परेका पाकेटमारहरु करिब एक महिनाको अवधिमा तीन महिलासहित २०७ जना पक्राउ परेका हुन् । पाकेटमारहरु एक अर्कालाई इसारा गर्दै ठूलो धनमाल लुट्ने गरेका छन् । प्रहरीले लुटेरासँग बाच्न कारोबार गर्दा याद गर्न सुझाव दिएको छ ।

“यस्तो गतिविधिमा संलग्न २०७ जनामध्ये १६१ जनामाथि अनुसान्धान भइरहेको छ । ४६ जना कारागार चलान भएका छन्,” एसएसपी सिंहले भन्नुभयो । धरौटी नतिर्ने ४६ जना कारागार चलान भएका हुन् । उहाँका अनुसार एक जना एक ठाउँमा र अन्यहरु फरक–फरक स्थानमा रहेर धन, सम्पत्ति हुनेको निगरानी गर्ने र इसाराको भरमा चोरी गर्ने गरेका छन् ।

कोड भाषाको प्रयोग
यसरी इसारा गर्दै चोरी गर्नेहरुको समूह नै हुने गरेको एसएसपी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको समूह नै हुन्छ, कोड भाषाको प्रयोग गर्दै एक जनाले दुई लाखसम्म लुटेको फेला परेको छ ।” यो पाकेटमारहरुको काम रहेको उहाँको बुझाइ छ । “प्रहरीले फेरि समात्छ भन्ने डरले उनीहरु जेल जान खोजेका छन्, निस्केपछि पुनः त्यही काम गर्ने हुँदा त्यो डर हुन्छ,” उहाँले भन्नुभयो ।

धेरै पढेलेखेका र स्थानीय
उहाँका अनुसार उनीहरु सबै जना पढे, लेखेका, स्थानीय र बाहिरबाट काठमाडौं छिरेका युवाहरु छन् । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ गते यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको सिंहले बताउनुभयो । पक्राउ गरिएका दुई सयमध्ये १६१ जनालाई थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले बताउनुभयो । दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो ।

सादा पोसाकका प्रहरी परिचालित
सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकमा प्रहरी बिटबाट दैनिक चार–पाँच जना प्रहरी खटाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले छ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । पाकेटमारहरुले प्रयोग गर्ने साङ्केतिक भाषा यस्तो  छ । पैसालाई : द, मोबाइल : कान, पाकेटमारी सकेको मान्छे : रामे, पाकेटमारका मास्टर : काशी, पैसा धेरै छ : टानको द, पैसा थोरै छ : जुटको द, गाडी : काँचा, केटा : छापा, केटी : भद्री, पुलिस आयो : ठूल्दाई आयो, ड्राइभर : मामा, खलासी : मले, गाडीबाट झरेर भाग : टप्की, गाडीभित्र अगाडि सर : अकल जा, गाडीभित्र पछाडि सर : चिछल जा जस्ता शब्दहरु पाकेटमारले प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?