logo
२०८१ बैशाख २३ आईतवार



तत्काल उद्धार गर्न निर्देशन

मुख्य समाचार |


तत्काल उद्धार गर्न निर्देशन


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरोमा अलपत्र परेका नागरिकको तत्काल उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले समस्या परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मङ्गलबार गृहमन्त्री बालकृष्ण खाणसँगको छलफलपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुखलाई टेलिफोन गरेर यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले बाढी, पहिरोले समस्यामा परेका सबै नागरिकको तत्काल उद्धार गर्न हेलिकप्टर तथा अन्य सबै विकल्प प्रयोग गर्र्न, नागरिकको घर सम्पत्तिको सुरक्षा गर्ने कामका लागि सबै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रका सबै स्थानीय निकायलाई उद्धार तथा राहतका लागि आफ्ना साधन र स्रोतलाई तत्काल परिचालन गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ । अलपत्र अवस्थामा रहेका, घरबारविहीन भएका नागरिकको सहयोगका लागि सक्रिय हुन र सक्दो सहयोग गर्न आमनागरिकलाई पनि प्रधानमन्त्री देउवाले अनुरोध पनि गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टर सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि परिचालन भइरहेको भए पनि खराब मौसमका कारण उद्धार कार्य प्रभावित भइरहेको सो अवसरमा सुरक्षा निकायका पदाधिकारीले प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् । नेपाली काँग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्रीसँगको भेटमा महाकाली र सेती नदी जलाधार क्षेत्रमा भएको बाढीपहिरो पीडितलाई तत्काल उद्धार तथा राहतको काम गर्न अनुरोध गरिएको छ ।
उहाँले भन्नुभयो, “बाढीपहिरोले पु¥याएको क्षतिबारे प्रधानमन्त्री स्वयम् जानकार हुनुहुन्छ । हामीले पनि सरकारले उद्धार र राहतको काम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने माग राख्यौँ । आज नै सबै सुरक्षा निकायलाई सो कामका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिइसक्नुभएको छ ।”

मुलुक आपत्विपत् परेका बखत सुरक्षा निकायको मात्र भर पर्न नहुने भएकाले अलपत्र परेका व्यक्तिलाई सक्दो मद्दत गर्न प्रधानमन्त्री देउवाले आमनागरिकलाई अपिल पनि गर्नुभएको छ । नेता लेखकले भन्नुभयो, ‘‘बाढीपहिरोग्रस्त क्षेत्रमा गृहमन्त्रीको नेतृत्वमा उच्चस्तरीय टोलीले स्थलगत भ्रमण गर्ने तयारी भइरहेको छ । सो टोलीले ल्याएको प्रतिवेदनका आधारमा बाढीपहिरोबाट घरबारविहीन भएका पीडित परिवार तथा अन्नबालीमा क्षति बेहोरेका किसानलाई राहतको प्याकेज ल्याउनुपर्ने हामीले माग राखेका छौँ । सरकारले त्यतातर्फ गृहकार्य पनि गरिरहेको छ ।”

बाढीपहिरोले सडक, पुलपुलेसा भत्काउँदा पहाडी जिल्लासँग सम्बन्ध विच्छेद भएको छ । ती ठाउँमा खाद्यान्न, औषधिमूलो तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति हुनुपर्ने अवस्था देखिएको छ ।
नेता लेखकले भन्नुभयो, “घरबारविहीन भएका व्यक्तिको बासको व्यवस्थाका लागि सहयोग हुनुपर्छ । ऋण लिएका किसानलाई ब्याजमा भए पनि अनुदान दिनुपर्छ । बिग्रेका बाटोघाटो, पानी, बिजुलीलगायतका सेवा तत्काल सुचारु गर्न सरोकारवाला निकायलाई परिचालन गर्नुपर्छ । अत्यावश्यक खाद्यान्न, औषधिलगायतका वस्तुको आपूर्तिका लागि ध्यान दिन जरुरी भएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?