logo
२०८१ मंसिर १५ शनिवार



माथिल्लो छन्दीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

मुख्य समाचार |


माथिल्लो छन्दीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
माथिल्लो छन्दीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह । तस्बिरः बेलिना थापा



बेलिना थापा
लमजुङ, मङ्सिर ७ गते । लमजुङको दोर्दी गाउँपालिकामा निर्माण गरिएको माथिल्लो छन्दीखोला साना जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । छ्याङदीखोलामा निर्माण गरिएको ४ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भए पश्चात् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो ।

छ्याङ्दी हाईड्रोपावर लिमिटेडद्धारा निर्मित आयोजनाको सबै निर्माण कार्य सम्पन्न गरी आन्तरिक परीक्षण पनि गरिसकिएको छ । आन्तरिक परीक्षण सफल भएपछि हाल परीक्षण उत्पादन भइरहेको छ । मङ्सिर १ गते नेपाल विद्युत प्राधिकरणबाट आएका प्राविधिक टोलीको अनुगमन तथा निरीक्षणपछि परीक्षण उत्पादन थालिएको हो । विद्युत प्राधिरकणले १५ दिन परीक्षण गर्दा परीक्षण सफल भएपछि व्यावसायिक उत्पादन थालिने आयोजनाका साइट इन्चार्ज सरोज पौडेलले बताउनुभयो । उहाँका अनुसार परीक्षण सफल भएपछि मङ्सिरको तेस्रो साताबाट व्यावसायिक उत्पादन गरिने योजना छ ।

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख इन्जिनियर यमकुमारी गुरुङले आयोजनाको अनुगमन तथा निरीक्षणपछि परीक्षण उत्पादन सुरु भएको बताउनुभयो । अनुगमनपछि परीक्षण थालिएको र १५ दिनसम्म परीक्षण सकेपछि व्यावसायिक उत्पादन हुने उहाँले बताउनुभयो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाका अनुसार २०७५ मा निर्माण सुरु गरिएको सो आयोजनाको निर्माणकार्य २०७८ साउन ५ गते सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । कोरोना भाइरस सङ्क्रमणपछि लकडाउन, बाढीपहिरोका कारण र प्राधिकरणको आन्तरिक कारण ढिलाई भएको आयोजनाले जनाएको छ । लमजुङ जिल्लाको हालसम्म सञ्चालनमा आएका र निमार्णमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै हेड कुल ७४५ मिटर छ ।

यसको संरचनामा बाँधक्षेत्र डिसेन्डर देखि सर्ज ट्याङ्कसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्ज ट्याङ्कबाट पावरहाउस सम्म एक हजार ३५६ मिटर पेनस्टक पाइप जडान गरी पावरहाउसमा खसालिएको छ । यसमा दुई वटा फोर्ज पेल्टन टर्वाइन र दुई वटा जेनेरेटर जडान गरिएको छ । यसको टर्वाइन युरोपको चेक रिपब्लिकमा र अन्य पार्टपूर्जा भारतमा बनेको आयोजनाले जनाएको छ । यस आयोजनाको डिजाइन इन्साइट इन्जीनियरिङ कन्सलट, सिभिल निर्माणतर्फ साकुरा पावर जेभी, हाइड्रोमेकानिकल तर्फ क्रिमहाइडल र इलेक्ट्रोमेकानिकलमा मेकामिडि इन्डिया छ ।

माथिल्लो छन्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत उर्जालाई हाल सञ्चालनमा रहेको छन्दीखोला साना जलविद्युत आयोजनाको सवस्टेशनमा थप उपकरणसहित दुई छुट्टाछुट्टै आयोजनाको मिटरिङको व्यवस्था गरी नेपाल विधुत प्राधिकरणको हाल सञ्चालनमा रहेको उदिपुर सवस्टेशनसम्म पु¥याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिएको छ ।

प्राधिकरणको नयाँ मापदण्ड अनुसार वर्षायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पिपिए भएको आयोजनाले जनाएको छ । वार्षिक २२.३०६ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने आयोजनाका लागि खरिद दरमा आठ पटकसम्म मूल्यवृद्धिको सुविधा दिइएको छ ।

हालसम्म आयोजना निर्माणमा कुल लागत ८० करोड ३५ लाख खर्च भइसकेको थापाले बताउनुभयो । यस आयोजनामा वित्तीय लगानीतर्फ बैंक अफ काठमाडौं र कुमारी बैंक लिमिटेडले आयोजनाको ७५ प्रतिशत लगानी गरेका छन् । २५ प्रतिशत स्वलगानी, तल्लो छन्दीखोला साना जलविद्युत आयोजनाको विद्युत विक्रीबाट आएको आम्दानी, कम्पनीको खातामा भएको रकम र बाँकी स्वपुजी कम्पनीले जारी गर्न लागेको हकप्रदबाट संकलन गरी भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

बैंक ब्याज र बाढीपहिरोले क्षति भएका आयोजनाको संरचना निर्माणमा गरी साँढे चार करोड रुपियाँ लागत बढेको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?