logo
२०८१ मंसिर ८ शनिवार



एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

मतदानको चार घण्टामा मतपरिणाम

मुख्य समाचार |
राजनीति |


एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन


काठमाडौँ, मङ्सिर ७ गते । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने आयोगका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

उहाँले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।

आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिनुभयो ।

महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५र१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उहाँका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ ।

विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उहाँले बताउनुभयो । उहाँले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।

महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।

दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?