logo
२०८१ मंसिर १५ शनिवार



लैङ्गिक हिंसाविरुद्ध साझा प्रतिबद्धता

मुख्य समाचार |


लैङ्गिक हिंसाविरुद्ध साझा प्रतिबद्धता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने
बताउनुभएको छ ।

उहाँले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा दिनुभएको सन्देशमा सो कुरा उल्लेख छ । उहाँले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ भन्नुभएको छ । राष्ट्रपतिले भन्नुभएको छ, “महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । ”

लैङ्गिक हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पनि राष्ट्रपतिले लिनुभएको छ ।
राष्ट्रपतिले लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?