logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौंमा ‘पिक एण्ड ड्रप’को नियम पालन नहुँदा समस्या

मुख्य समाचार |
समाज |


काठमाडौंमा ‘पिक एण्ड ड्रप’को नियम पालन नहुँदा समस्या


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । काठमाडौं उपत्यकाको एकतर्फी सडकमा लागू गरिएको ‘पिक एण्ड ड्रप’को नियम पालन नहुँदा आवागमनमा समस्या बढ्दै गएको छ । सडकको दुवैतर्फ बस तथा टेम्पो रोकेर जथाभावी यात्रु ओराल्ने र चढाउने गर्दा समस्या भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार एक समय कडाइका साथ लागू भएको पिक एण्ड ड्रपको नियम अहिले पालन भएको छैन । महानगर क्षेत्रमा पार्किङको समस्यालाई ध्यानमा दिँदै ७२ ठाउँमा निःशुल्क स्मार्ट पार्किङको व्यवस्था गरिएको छ । तर त्यसले समस्या समाधान नभएको उहाँको भनाइ छ ।

‘अहिले बस पार्कका लागि छुट्टै क्षेत्र छुट्याउन सक्ने अवस्था छैन । पुरानो बस पार्क भर्खरै बन्दैछ’, निरीक्षक भण्डारीले भन्नुभयो, ‘व्यवस्थित पार्किङस्थल हुँदाहुँदै पनि सार्वजनिक तथा निजी सवारी जहाँ पायो त्यही पार्किङ गर्ने प्रवृति छ । यसले पैदल यात्रुसँगै सवारी आवागमनमा समस्या बढ्दै गएको छ ।’

जथाभावी पार्किङले एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी रोकिने गरेका छन् । यसले बिरामीको ज्यान जानसक्ने खतरा हुन्छ । अव्यवस्थित पार्किङ गर्ने निजी कार र मोटरसाइकल महानगरपालिकाको महानगर प्रहरीले उठाउने गरेको निरीक्षक भण्डारीले बताउनुभयो ।

‘निषेधित क्षेत्रमा पार्किङ भएका मोटरसाइकल उठाएर महानगरीय ट्राफिक प्रहरी कार्यलय बगीखानामा लाने र एक हजार जरिवाना तिरेपछि मात्र सवारी साधान फिर्ता गरिन्छ ,’ भण्डारीले भन्नुभयो,‘बाटोमा जथाभावी गाडी रोक्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ ।’ यसको लागि आमजनताले नियम पालन नगर्दासम्म समस्याको सामाधान नहुने उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७७/७८ मा जथाभावी बाटोमा पार्किङ गर्ने सात हजार २१६ र आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ९३१ वटा मोटरसाइकललाई महानगरपालिकाले उठाएर कारबाही गरेको महानगरको तथ्याङ्क छ ।

यस्तै, पिक एण्ड ड्रपको नियममा रहेको रत्नपार्कमा तारकेश्वर जाने गाडीको लाइन भने जारी नै रहेको उहाँले बताउनुभयो । ‘तारकेश्वर जाने लाइन जारी छ, त्यहाँ जाने मानिसको सङ्ख्या धेरै रहेकाले गाडी चढ्न पिक एण्ड ड्रपको नियम लागू भएको हो,’ भण्डारीले भन्नुभयो ।

सडक जाम हुँदा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या हुन्छ । पार्किङले साँघुरो बनाउँदा गाडी चलाउनसमेत जोखिम हुने गरेको टेम्पो चालक राम श्रेष्ठको भनाइ छ । ‘जहाँ जस्तो ठाउँमा पनि टेम्पो राख्दा ट्राफिक प्रहरीले चिट काट्छ,’ उहाँले भन्नुभयो,‘कोरोनाले आम्दानी घटेको छ । एक पटक चिट काट्यो भने दिनभरिको मिहेनत जान्छ ।’ उपत्यकाको भीडभाड र जामलाई विचार गर्दै अहिले टेम्पोह स्टेशनमा मात्र रोक्ने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?