गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति प्रक्रियाका काम छिटो टुङ्ग्याउन सरकार तथा राजनीतिक दललाई आग्रह गर्नुभएको छ । शान्ति प्रक्रिया सुरु भएको डेढ दशक भइसक्दा पनि यसलाई तार्किक निष्कर्षमा पु-याउन नसकिएकोमा पुनले चिन्ता व्यक्त गर्नुभयो । १३औँ राष्ट्रिय मानवअधिकार महाभेलाको बुधबार राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “यो नेपाल र नेपाली जनताको प्रतिष्ठासँग जोडिएको विषय हो । सबैले यसतर्फ हेरिरहेका छन् । तसर्थ म सबै राजनीतिक दल र नागरिक समाजलाई यसतर्फ सचेत रहन ध्यानाकर्षण गराउँछु ।”
उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन राज्यले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । पुनले भन्नुभयो, “तर यो विषय गहन भएकाले सत्तापक्ष र प्रतिपक्षको नजरले मात्रै हेर्न हुन्न । सबैको सहयोग उत्तिकै महत्त्वपूर्ण छ ।” शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काम मानवअधिकारको पूर्ण पालनासँग जोडिएको उहाँले बताउनुभयो ।
मानवअधिकारको पूर्ण पालना नभएसम्म सभ्य र सुसज्जित समाज निर्माण गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, “अझै पनि समाजमा हत्या हिंसाका घटना न्यूूनीकरण हुन सकेको छैन । गरिबी र उत्पीडन अन्त्य भएको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।” मानवअधिकारको क्षेत्रमा बनेको कार्ययोजना र उद्देश्य पवित्र भए पनि कार्यान्वयन पक्ष फितलो रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउनुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले मानवअधिकार र लोकतन्त्रको पक्षमा भएका बलिदानले ल्याएको परिवर्तनलाई राज्यले स्वीकार्न नसकेको बताउनुभयो ।
एमाले नेता अग्नि खरेलले शान्ति र मानवअधिकारका पक्षमा मुलुकका पक्षबाट भएका र गरिएका प्रतिबद्धतामाथि छलफल हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका नेता देव गुरुङले मानवअधिकारको मूल्य र मान्यतालाई स्थापित गर्न शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७८ र २०७७ बाट क्रमशः वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, भद्रमान घले तथा पद्मरत्न तुलाधरको स्मरणमा स्थापित राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार–२०७८ र २०७७ बाट डा. रेणु अधिकारी र दमननाथ ढुङ्गानालाई सम्मान गरिएको छ ।
शान्तिलक्ष्मी महिला मानवअधिकार पुरस्कार–२०७८ र २०७७ क्रमशः मुस्कान खातुन र सपना रोकामगरलाई दिइयो । गत वर्ष घोषणा गरिएको पुरस्कार कोरोना महामारीले वितरण गर्न नसकिएकाले यस वर्ष दिइएको आयोजकले जनाएको छ ।