काठमाडौं, मङ्सिर २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनका क्रममा काठमाडौंमा सवारी चाप बढ्ने ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ । काठमाडौंको भृकुटीमण्डवमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुहुने छ ।
उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई दृष्टिगत गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्राफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिनुभयो । नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन् ।
उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुनेछ । यसपालि काँग्रेसले महाधिवेशनमा प्रतिनिधि र स्वतःस्फूर्त आउने व्यक्तिहरु मात्रै उपस्थित हुने जनाइसकेको छ । थोरै मानिसको भीड हुने बित्तिकै उपत्यकाको सवारी आवागमनमा चाप पर्ने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको प्रहरीको भनाइ छ ।
कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ । त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ ।
टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ ।
महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भीआईपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।
यसरी सवारी रुट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवानसहित ९५ ट्राफिक प्रहरी खटाएको छ ।
अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिनेछ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।