logo
२०८१ मंसिर १४ शुक्रवार



महाधिवेशन प्रतिनिधिको रक्तचाप सन्तुलित

मुख्य समाचार |


महाधिवेशन प्रतिनिधिको रक्तचाप सन्तुलित


सरोज आचार्य

काठमाडौँ, मङ्सिर २५ गते । नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले शिविर सञ्चालन गरेको थियो ।

स्वास्थ्यकर्मी सोमिमा आचार्यले भन्नुभयो– “एकाध सहभागीको मात्र रक्तचापमा गडबडी देखिएको छ ।” महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र महासमिति सदस्यको सहभागिता रहेको भृकुटीमण्डप क्षेत्र धूमपानविहीन रह्यो । प्रहरी अस्पताललगायतका एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि एम्बुलेन्सको उपयोग भएन । महाधिवेशन कार्यक्रम स्थलमा नुवाकोट बेलटारबाट बदामको भारीसहित आइपुग्नुभएका प्रमोद नेपालले खासै बदाम बिक्री नभएको गुनासो गर्नुभयो । सहभागीमध्ये केहीले मात्र घाम न्यानो हुँदै गर्दा बदाम खाए भने महिलाले तितौरा खान रुचाए । चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा ह्वात्तै बदाम बिकेकाले आफूहरू नुवाकोटबाट भृकुटीमण्डपमा बदाम बेच्न आइपुगेको उहाँले बताउनुभयो ।

व्यापार चम्क्यो
भृकुटीमण्डपमा खाजा पसल चलाउँदै आउनुभएकी सीता थापाको व्यापार भने राम्रै जम्यो । उहाँले दैनिक १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकोमा अहिले झण्डै ६० हजार रुपियाँसम्मको व्यापार भइरहेको बताउनुुभयो । अरू समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँको भनाइ छ । अर्का खाजा पसल सञ्चालक मातृकाप्रसाद राईको व्यापार झण्डै चार गुणाले चम्केको छ । सहभागीका लागि १३ स्टलमा खानाको व्यवस्था गरिएको छ । खाना व्यवस्था गर्ने अनुपम फुड ल्यान्डका व्यवस्थापक ध्रुव आचार्यले ६५० केजी चामल, एक हजार केजी लोकल कुखुरा, एक हजार केजी खसीको मासु, छ सय केजी काउली र यससँगै मिसिने परिमाणको आलु ताजा सागको व्यवस्था भए पनि सहभागीहरू खानका लागि मरिहत्ते गर्ने खालको नपाइएको बताउनुभयो । सहभागीमध्ये धेरैजसो शाकाहारी भोजनतर्फ आकर्षित भएको पाइएको छ ।

उहाँले सहभागीलाई स्वच्छ र स्वस्थ सरल खाना खुवाउनु भनिएकाले दियालो फुड ल्यान्डको सहकार्यमा स्वास्थ्यवद्र्धक भोजन तयार गरिएको बताउनुभयो । महाधिवेशन स्थलमा सरसफाइप्रति पनि निकै ध्यान दिइएको थियो । महाधिवेशन स्थलमा जननायक बीपी कोइरालासँग सम्बद्व पुस्तक निकै बिक्री भए । कलाकारहरूले थरीथरीका गीत, नृत्य र कला प्रस्तुुत गर्दा नेतादेखि कार्यकर्तासम्म दङ्ग देखिन्थे । महाधिवेशनस्थल विभिन्न झाँकी र सांस्कृतिक उपस्थितिबीच रह्यो । महाधिवेशनको उद्घाटन समारोहमा समावेशी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा रहेको सांस्कृतिक समितिले ‘देशलाई जोड्ने’ शैलीको सांस्कृतिक प्रस्तुति दिएको हो । कलाकार शिवशङ्कर रिजालका अनुसार नेवारी, थारु, तामाङ, शेर्पा, खस आर्यदेखि मधेससम्ममा सांस्कृतिक झलकहरू प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?