logo
२०८१ मंसिर १३ बिहीवार



‘एमसीसीबारे सत्ता गठबन्धनमा मतभेद छैन’

मुख्य समाचार |


‘एमसीसीबारे सत्ता गठबन्धनमा मतभेद छैन’


सिराज खान

नेपालगञ्ज, पुस ३ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नरहेको बताउनुभएको छ ।
उहाँले गठबन्धनमा रहेका सबै दलहरूबीच राष्ट्र हितमा रहेका कुनै पनि सम्झौता र योजनालाई स्वीकार गर्ने र देश हितमा नरहेका कुनै पनि सम्झौता र योजनालाई अस्वीकार गर्ने सहमति बनेको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको पहिलो लुम्बिनी प्रदेशस्तरीय सम्मेलनको शुक्रबार अपराह्न नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन।”

एमसीसीबारे दलहरूबीच छलफल चलिरहेको जनाउँदै त्यसमा कुनै कमी कमजोरी छन् भने ती कमी कमजोरी सच्याउनुपर्ने आफूहरूको धारणा रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ थियो ।
अर्को प्रशङ्गमा उहाँले एकीकृत समाजवादीले सरकारमा पठाएका सबै मन्त्रीहरूले राम्रो काम गरिरहेको र जनताको मन जित्दै गएको पनि जनाउनुभयो । स्वास्थ्यमन्त्रीसँग भएको भेटबारे जानकारी गराउँदै उहाँले कुनै पनि नेपाली कोरोनाको खोपबाट वन्चित नहुने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको जानकारी पाएको बताउनुभयो ।

नेकपा एमाले केपी ओलीको निजी कम्पनी र भजन मण्डलीमा परिणत भएको जनाउँदै नेता नेपालले ओलीको निरङ्कुशतावादी कदम र कामले कम्युनिस्टहरू निरङ्कुश हुन्छन् भन्ने भ्रम सर्वसाधारणमा फैलिएको दाबी गर्नुभयो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले जनतालाई सरकार भएको अनुभूति दिलाउने गरी काम गरिरहेको जनाउँदै यो सरकार बनेपछि जनतामा आशा पलाएको बताउनुभयो ।

यसैबीच काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालले आफ्नो दल देशलाई गरिबी, अभाव र बेरोजगारबाट मुक्त बनाउने अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो दलले सबैका लागि काम गर्ने स्पष्ट गर्नुभयो ।
उहाँले आफू र आफ्नो दलको चाहना नै शोषण, दमन र उत्पीडनबाट मुक्त गर्नु रहेको भन्दै सबै खालका विभेद, असमानता र थिचोमिचोबाट मुक्त गर्न आफूले हरसम्भव प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?