काठमाडौँ, पुस ११ गते । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले माओवादी केन्द्रको महाधिवेशनले पार्टी एकताको ढोका खुला गर्नुपर्ने बताउनुभएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्वमाओवादी एक हुनुपर्ने उल्लेख गर्दै आउनुभएको सम्झना गर्दै गजुरेलले यस्तो बताउनुभएको हो । नेता गजुरेलले एकता सम्भव भएको तर त्यसका लागि महाधिवेशनले महत्वपूर्ण केही निर्णय गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘पार्टी एकता सम्भव छ’, गजुरेलले भन्नुभयो, ‘तर, त्यसभन्दा अगाडि यो महाधिवेशनले एकताको लागि ढोका खुला गर्नुपर्छ ।’
नेता गजुरेलले एकताको ढोका खुला गर्नका निम्ति जनयुद्ध सुरु हुनुभन्दा अगाडिको पहिलो केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने, जनगणतन्त्र नेपाल बनाउन अगाडि बढ्नुपर्ने, राष्ट्रिय स्वाधिनताका लागि कदम अगाडि बढाउनुपर्ने, एमसीसी खारेज गर्नुपर्ने, नेपालले गुमाएका भूभाग प्राप्त गर्न पार्टी प्रतिवद्ध बन्नुपर्ने सर्त अगाडि सार्नुभएको छ ।