logo
२०८१ मंसिर १० सोमवार



राष्ट्रियता र स्वाधिनतामा सबै दल एक हुनुपर्छ : शंकर पोखरेल

मुख्य समाचार |
राजनीति |


राष्ट्रियता र स्वाधिनतामा सबै दल एक हुनुपर्छ : शंकर पोखरेल


काठमाडौँ, पुस ११ गते । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दल राष्ट्रियता र स्वाधिनताको पक्षमा एक हुनुपर्ने बताउनुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहमा सफलताको शुभकामना व्यक्त गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रियताको सवालमा राजनीतिक दल विभाजित हुनु नहुने कुरामा जोड दिनुभयो । सँगै महासचिव पोखरेलले समाजलाई बदल्न आर्थिक र सामाजिक मुद्दामा एक हुनुपर्नेमा जोड दिनुभयो ।

‘नेपालका राजनीतिक दल राष्ट्रियताको सवालमा विभाजित हुनुपर्ने कुनै कारण छैन । हामी विभाजित भएमा विदेशी शक्ति खेल्न थाल्छन्’, पोखरेलले प्रश्न गर्दै भन्नुभयो, ‘नेपालमा नियन्त्रित अस्थिरताको सिकार नेपालका राजनीतिक दल त हुँदै गएका छैनौँ ? नेपालका राजनीतिक दल राष्ट्रियता र स्वाधिनताको पक्षमा एक हुनुपर्छ । समाजलाई बदल्ने हो भने आर्थिक र सामाजिक मुद्दामा एक हुनुपर्छ ।’

नेकपा जोगाउन नसक्दा पछुतो लागेको महासचिव पोखरेलल बताउनुभएको छ । ‘नेकपा गठन गलत कुरा थिएन । त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ’, पोखरेलले भन्नुभयो । स्वार्थमा अल्झिएका कारण नेकपाको एकता जोगाउन नसकिएकोसमेत उहाँले स्वीकार गर्नुभएको छ । ‘हामी स्वार्थमा अल्झिएका कारण नेकपा विघटन हुन पुग्यो’, उहाँले भन्नुभयो । पोखरेलले विगतको नेकपा गठन ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।

नेकपाको एकतालाई जोगाउन नसकिएको बताउनुहुदै उहाँले इतिहासबाट शिक्षा सिक्नुपर्ने भनाई पनि राख्नुभयो । ‘हामी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बलियो वामपन्थी शक्ति निर्माण गर्ने उद्देश्यले पार्टी एकताभयो । एउटै घोषणापत्रमा देशव्यापीरुपमा चुनाव लड्यौं । जनताको एउटै पार्टी गठन गर्न नेकपा गठन ग-यौं तर त्यसलाई रक्षा गर्न सकेनौं ।’, पोखरेलले बताउनुभयो ।

तात्कालीन समयमा माओवादी केन्द्र सशस्त्र संघर्षको समयमा सहमतिका १२ बुँदे सहमतिको आधार तयार गर्न एमालेले महत्व्पूर्ण भूमिका खेलेको बताउनुहुदै उहाँले देशमा सामूहिकताको आधारमा परिवर्तन भएको बताउनुभयो ।

विगतमा २०६२–६३ आन्दोलनको समयमा काँग्रेसका तात्कालीन सभापति गिरीजाप्रसाद कोइरालालाई स्मरण गर्नुहुदै नेता पाेखरेल देशमा तीनवटा क्रान्ति भइसक्दा पनि देशमा निर्माण र समृद्धि प्राप्त हुन नसकेको भनाई राख्नुभयो । तसर्थ, आगामी दिनमा क्रान्तिको कुरा गरेर मात्र पर्याप्त नहुने देश विकास र समृद्धिमा पनि नयाँ सोच र संकल्पका साथ देशको कम्युनिष्ट आन्दोलन अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको समेत बताउनुहुदै उहाँले माओवादी केन्द्रको समुद्घाटन समारोहमा यस विषयमा बहस गर्न नचाहेको उहाँले बताउनुभएको छ । उहाँले एमले अध्यक्ष केपी शर्मा ओलीले चाहदाचाहदै पनि कार्यव्यवस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएको जानकारी पनि उहाँले दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?