logo
२०८१ मंसिर १३ बिहीवार



विकासप्रति सरकार प्रतिबद्ध : मन्त्री कार्की

मुख्य समाचार |


विकासप्रति सरकार प्रतिबद्ध : मन्त्री कार्की


फूलचन्द मेहता/जयकृष्ण यादव

इनरुवा, पुस ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानमा आइतबार आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी चैतभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो ।

उहाँले खोप लगाउने विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताउनुभयो । मन्त्री कार्कीले एकजुट भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो । “स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ छ”, उहाँले भन्नुभयो ।

सबै आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अगाडि बढे नेपाल १० देखि १५ वर्षभित्र दक्षिण एसियामा सम्पन्न राष्ट्रका रूपमा विकसित हुने बताउँदै उहाँले अबको लक्ष्य एकमात्र समृद्धिको दिशामा अग्रसर हुने रहेको बताउनुभयो । कार्यक्रममा सुनसरी क्षेत्र–२ का सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर मिया, नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालगायतका वक्ताले धारणा राख्नुभएको थियो । हरिनगर गाउँपालिकाअन्तर्गत नरकटिया नहरदेखि भुटहा बजारसम्मको पक्की नालासहित सडक निर्माण र भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ का भवन शिलान्यास गरिएको छ ।

यसैगरी इनरुवा समाचारदाताका अनुसार मन्त्री कार्कीले विकासका लागि सरकारले सबैखाले प्रयास जारी राखेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–२ को सडक कालोपत्रे गर्न आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्रोत साधनले भ्याएसम्म जनताका आवश्यकतामा आधारित विकासलाई सरकारले निरन्तरता दिएको बताउनुभयो ।


मन्त्री कार्कीले हरिनगर गाउँपालिका–२ को रामनगर भुटहा बजारबाट वसन्तपुरसम्म र अर्को एक सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभयो । उहाँले सुनसरीको हरिनगर गाउँपालिकामा काँग्रेसका जनप्रतिनिधि आएपछि भएको उन्नति, प्रगति, विकास र सुशासन अनि नागरिकमैत्री कामको प्रशंसासमेत गर्नुभयो ।

विकासका लागि सुरुमा समस्या पहिचान गर्ने, त्यसको समाधानका लागि समन्वय गर्ने र सहकार्यमा विकास गर्ने तथा समाधान गर्ने विश्वास उहाँले दिलाउनुभयो । गुटबन्दी अन्त्य गर्दै पार्टीका उम्मेदवारलाई स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा जिताउनुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो ।

यसैबीच आइतबार बराह क्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थीसँगको अन्तक्र्रियामा उहाँले हाल क्याम्पस रहेको सरकारी जग्गामा ५० शøयाको अस्पताल निर्माणको प्रक्रिया अगाडि बनाइने घोषणा गर्नुभयो ।

उहाँले अस्पतालका लागि डेढ बिघा जग्गा आवश्यक पर्ने भएकाले जग्गा उपलब्ध हुनासाथ सम्झौता गरेर दुई वर्षभित्र अस्पताल भवनको काम सम्पन्न हुनेछ भन्नुभयो । उहाँले शिक्षा, सडक, विद्युत् जस्ता क्षेत्रमा सांसद हुँदा गरेका काम, अस्पताल र कालोपत्रे सडकको योजना लिएर आइपुगेको बताउनुभयो ।

बराह क्षेत्रको बाङ्गेदेखि नडाहा हुँदै धरान जोड्ने कच्ची सडकलाई कालोपत्रे गर्न प्रदेश १ सरकारका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई मन्त्री कार्कीले आग्रह गर्नुभएको थियो । धरान जोड्ने सडकको काम प्रदेश सरकारले गर्न सक्ने तर प्रदेशले नगरे सङ्घीय सरकारको नयाँ बजेटबाट त्यो काम गर्नेसमेत आश्वासन उहाँले दिनुभयो ।

कार्यक्रममा प्रदेश–१ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, बराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीलगायतले विकासमा केन्द्रीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी मन्त्री कार्कीले भोक्राहा नरसिंह गाउँपालिका वडा–४ को वडा कार्यालयको समेत शिलान्यास गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?