logo
२०८१ मंसिर १३ बिहीवार



जनताको घरदैलोमा कर्मचारी पुग्नुपर्छ

मुख्य समाचार |


जनताको घरदैलोमा कर्मचारी पुग्नुपर्छ


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको घरदैलोमा सरकार पुग्न कर्मचारी नै घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय पदाधिकारीसँग मङ्गलबार भएको भेटमा उहाँले सरकारका कार्यक्रम जनताको घरदैलोमा पु-याउने काम कर्मचारीले गर्ने भएकाले कर्मचारी सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारद्वारा उपलब्ध हुने सेवा तथा सुविधालाई उचित समयमा आमनागरिकलाई प्रवाह गर्न निजामती कर्मचारीलाई निर्देशन दिनुभयो । सङ्घीय निजामती ऐन ल्याउनुअघि सरोकारवाला सबैसँग छलफल गरेर मात्र ल्याइने विश्वास उहाँले दिलाउनुुभयो ।
ऐनका बारेमा कानुनमन्त्रीसँग थप छलफल गरेर मात्र अघि बढ्ने आश्वासन प्रधानमन्त्री देउवाले दिनुभएको युनियनका अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो ।

अध्यादेशमार्फत ल्याउन लागिएको निजामती सेवा ऐनमा कसैलाई काखा र कसैलाई पाखा नगरिने, सबै कर्मचारीको मागलाई सम्बोधन गरिने प्रधानमन्त्रीले बताउनुभएको जानकारी अध्यक्ष पोखरेलले दिनुुभयो । सो अवसरमा प्रधानमन्त्री देउवासमक्ष युनियनका पदाधिकारीले कर्मचारी वृत्ति विकास, कर्मचारी समायोजन, कर्मचारीको श्रेणी निर्धारण तहमा एक रूपता, पूर्व अनुमानयोग्य सरुवा प्रणालीलगायतका माग सङ्घीय निजामती सेवा ऐनमा समेटिनुपर्ने माग राखेका छन् । अध्यक्ष पोखरेलले भन्नुभयो, “हामीले प्रधानमन्त्रीसमक्ष अध्यादेशबाट आउन थालेको ऐनमा सीमित व्यक्तिको मात्र स्वार्थ पूूरा हुनेभन्दा पनि आम कर्मचारीको उच्च मनोबल बढ्ने गरी नयाँ व्यवस्था गरिनुपर्छ भन्ने माग राख्यौँ । हाम्रा मागबारे प्रधानमन्त्री ज्यादै सकारात्मक हुनुभएको छ ।”

युनियनले लामो समयदेखि नायब सुब्बाको पदोन्नतिमा १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था र कर्मचारीको सरुवा प्रणालीलाई पूर्वानुमानयोग्य चक्रीय प्रणालीको व्यवस्था गरे मात्र सरुवा प्रणाली व्यवस्थित हुने माग युनियनले राख्दै आएको जानकारी अध्यक्ष पोखरेलले दिनुभयो । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति देउवालाई युनियनका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?