गोरखापत्र समाचारदाता
काठमाडौं, पुस १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरूले अलग–अलगरूपमा बिहीबार दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले राष्ट्रिय एकतालाई बलियो अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरु भएको सङ्केत गर्दछ । गुरुङ समुदायले बिहीबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन छ ।
सन्देशमा राष्ट्रपतिले मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धनमार्फत् आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपाली समाज विविधताले भरिएको इन्द्रेणीजस्तै सुन्दर र सौम्य छ भन्दै राष्ट्रपतिले तमु ल्होसारजस्ता पर्वबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एकतालाई बलियो बनाउँछ : प्रम
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामनामा नेपाली संस्कृति र संस्कारमा आ–आफ्नै विशिष्ट पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख छ । प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्ने कुराहरु हाम्रा सांस्कृतिक अभ्यासका असल उदाहरण भएको उल्लेख गर्नुभएको छ ।
उहाँले गुरुङ्ग समुदायमा मनाइने ल्होसार पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वको रुपमा स्थापित भएको उल्लेख गर्नुभएको छ । कोभिड १९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डहरूको पालना गर्दै ल्होसार पर्व मनाउन पनि गुरुङ समुदायलाई आग्रह गर्नुभएको छ ।
यसैबीच, गुरुङ समुदायको महान पर्व ‘तमु ल्होसार’ बिहीबार काठमाडौं उपत्यकासहित विशेष कार्यक्रमसहित मनाइँदैछ । गाई वर्ग (ल्वो ल्ही)को बिदाइ र बाघ वर्ग (तो ल्हो) स्वागत गर्दै गुरुङ समुदायले देश–विदेशमा तमु ल्होसार मनाउँदैछन् । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायतका जिल्लामा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ ।
तमु ल्होसार मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले टुँडिखेलमा बिहीबार विशेष समारोह आयोजना गरिएको बताउनुुभयो । हरेक वर्ष पुस १५ मा मनाइने तमु ल्होसार देश विदेशमा रहेका नेपाली गुरुङ समुदायका मानिसले सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने गर्छन् ।
तमू ल्होसारमा बिदा
सरकारले तमू ल्होसारका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सूचना प्रकाशित गरी तमू ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ ।