logo
२०८१ मंसिर १३ बिहीवार



महिला नेतृत्व विकासमा नेपाल अगाडि

मुख्य समाचार |


महिला नेतृत्व विकासमा नेपाल अगाडि


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको नेतृत्व विकासका लागि नेपाल विश्वका अन्य मुलुकभन्दा अग्रपङ्क्तिमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ पुस्तक शनिबार विमोचन गर्नुहुँदै उहाँले नयाँ संविधान कार्यान्वयन भएसँगै महिला नेतृत्वको विकासले फड्को मारेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली समाजमा महिलाको स्थान उच्च नै छ । पछिल्ला वर्षमा नेपालले ३३ प्रतिशत महिला आरक्षण व्यवस्था कार्यान्वयन गरेको छ । यो विश्वको एक उदाहरणीय काम भएको छ ।”

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा एक जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालमा नयाँ संविधान कार्यान्वयनसँगै समावेशी तथा समानुपातिक सिद्धान्तको अभ्यासमा महिला, दलित, जनजाति, अल्पसङ्ख्यकसहितको नेतृत्व विकास गराउने काममा नेपाललाई उदाहरणकै रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले काँग्रेस पार्टीले महिला नेतृत्व विकास लागि पार्टीभित्र सहज वातावरण बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीभित्र समावेशी सिद्धान्त कार्यान्वयन पूर्ण रूपमा भइरहेको छ । पार्टीको वडादेखि केन्द्रसम्मै ३३ प्रतिशत महिलालाई प्रतिनिधित्व गराउन काँग्रेस सफल भएको छ । त्यसैले काँग्रेसजस्तो समावेशी पार्टी हाम्रो देशमा छैनन् ।” उहाँले पुस्तकका लेखक डा. सङ्ग्रौला सङ्घर्षको पर्याय भएको र नेपाली काँग्रेसभित्र लेखन, चिन्तन गर्ने नेतृका रूपमा परिचित भएको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले नेपालमा राजनीतिक परिवर्तनसँगै महिलाको नेतृत्व विकासमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । प्रा.डा. लोकराज दुलालले कृतिमाथि टिप्पणी गर्दै पार्टी राजनीतिमा सक्रिय रहेर पनि लेखनकलामा उत्तिकै सक्रिय डा. सङ्ग्रौलाका लेख समसामयिक र पठनीय भएको बताउनुभयो । पुस्तकका लेखक डा. सङ्ग्रौलाले आफू पार्टी राजनीतिमा सक्रिय भएसँगै लेखनमा पनि सक्रिय भइरहने र लेखनले पार्टी राजनीतिलाई थप ऊर्जा दिने गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?