logo
२०८१ मंसिर १२ बुधवार

 राष्ट्रियसभा निर्वाचनमा प्रदेश १   



सत्ता गठबन्धनलाई नेकपा एमालेले चुनौती दिने

मुख्य समाचार |


सत्ता गठबन्धनलाई नेकपा एमालेले चुनौती दिने


गोकुल पराजुली
विराटगनर, पुस २० गते । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा तीन सदस्य पदका लागि आज मङ्गलबार राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराउँदैछन् । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रदेश १ बाट निर्वाचित भएर चारवर्षे कार्यकाल पूरा गरेका तीन जना राष्ट्रियसभा सदस्यहरुको पद खाली हुने भएपछि हुन लागेको निर्वाचनमा एमालेले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । एमालेले प्रदेश १ मा खुलातर्फ गुरुप्रसाद बराल(मोरङ), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अपाङ्ग तथा अल्पसङ्ख्यकमा सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा सदस्य पदमा पाँचदलीय गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवारी दर्ता हुने निर्णयानुसार खुलातर्फ नेपाली काँग्रेसका गोपाल बस्नेत(झापा) र महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई(भोजपुर)ले उम्मेदवारी दर्ता गराउने हुनुभएको छ । गठबन्धन दलको भागमा परेको पदमा सम्बन्धित दलले निर्णय गरेर उम्मेदवारी टुङ्ग्याएका हुन् । अपाङ्गता भएका तथा अल्पसङ्ख्यक कोटामा उम्मेदवारी दिने भाग पाएको गठबन्धन दल जनता समाजवादीले भने अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन ।
नेकपा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र सङ्खुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिएर पद रिक्त हुन लागेको पदमा गठबन्धनले भागबण्डा गरेर उम्मेदवारी दिन लागेका छन् भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा जाँदैछ ।
सात वटा प्रदेशमध्ये प्रदेश १ मा सबैभन्दा बलियो देखिएको नेकपा एमालेले पाँचदलीय गठबन्धनलाई चुनौती दिने भएको छ ।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्यमध्ये ९२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २७४ मध्ये २७२ जना गरी ३६४ जना जनप्रतिनिधिले मतदानमा भाग लिनुहुनेछ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार चार हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार चार हजार ८९६ गरी जम्मा मतभार नौ हजार ३१२ छ ।
प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको चार हजार ५४२ मतभार छ भने गठबन्धनको पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार चार हजार ६८६ देखिएको छ । जनप्रतिनिधिहरुको मत अन्यत्र क्रस नभएको अवस्थामा गठबन्धन दलको जीत हुने देखिए पनि झिनो मतान्तर रहेकाले गोप्य मतदान हुँदा प्रदेश १ मा परिणाम फेरबदल हुने सम्भावना पनि कायम छ ।
राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको दुई हजार ७३६, नेकपा (माओवादी केन्द्र)को एक हजार आठ, नेकपा (एकीकृत समाजवादी)को ६७८, जनता समाजवादी पार्टीको २१६ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार छ । राप्रपाको मत कसले प्राप्त गर्छन् भन्ने निश्चित भइसकेको छैन ।
राप्रपाको मत एमालेलाई गएको अवस्थामा गठबन्धन २४ मतले अगाडि हुने देखिएको छ ।
प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार एक हजार ९६८ छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको दुई हजार ५७४ मतभार छ ।
यसैगरी, नेपाली काँग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार एक हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार दुई हजार ७३६ छ । नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् ।
माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार छ भने प्रमुख र अध्यक्ष नौ जना तथा उपप्रमुख र उपाध्यक्ष सात जनाको मतभार २८८ सहित जम्मा मतभार एक हजार आठ छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका ११ जना जनप्रतिनिधि छन् ।
नेकपा एकीकृत समाजवादीको स्थानीय तहका प्रमुख र अध्यक्ष छ जना तथा उपप्रमुख र उपाध्यक्ष पाँच जनाको मतभार १९८ छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ । प्रदेशसभा सदस्य तीन, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष दुई रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार  छ भने अध्यक्ष तीन, उपाध्यक्ष एक र प्रदेशसभा सदस्य एक रहेको राप्रपासँग १२० मतभार छ । प्रदेशसभामा सांसद रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ । मञ्च प्रदेशमा गठबन्धनमै आबद्ध छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?