अविनाश चौधरी
धनगढी, पुस २० गते । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन दलबाट तीन र प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन गरेर छ जनाको उम्मेदवारी परेको हो । सुदूरपश्चिमबाट राष्ट्रियसभामा तीन जना निर्वाचित हुनेछन् ।
सत्ता गठबन्धन दलको तर्फबाट खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, महिलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की मदनकुमारी शाह (गरिमा) र दलिततर्फ नेकपा (माओवादी केन्द्र)का जगत पार्कीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।
प्रतिपक्षी दल नेकपा (एमाले)बाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा र दलिततर्फ बैतडीका नरेश विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ । यो प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख, उपप्रमुख गरेर २२७ जना मतदाता छन् ।