काठमाडौं, पुस २१ गते । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यसूची छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मङ्गलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् ।
उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध बुधबार उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारीविरुद्ध उजुरी परे पुस २२ र २३ गते उजुरीमाथि छानबिन हुने र २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यसूची छ । त्यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी फागुन २० गते बिदा हुँदै हुनुुहुन्छ । २० सांसदमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने छन् भने १९ जनाका लागि निर्वाचन हुन लागेको हो ।