काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप वितरण राम्रो भए पनि खोपका लागि जनतालाई सचेतना दिनुपर्नेमा जोड दिनुभएको छ । सबैले खोपलाई महत्व दिनुपर्ने उहाँको भनाइ छ ।
‘खोपका लागि जनतालाई सचेतना दिनुपर्ने देखिएको छ । खोप वितरण राम्रो भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अझै पनि सबैले खोपलाई महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने छ ।’
प्रधानमन्त्री देउवाले निर्वाचनसम्ममा कोरोना नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो । महामारीको समयमा भएका पार्टीका महाधिवेशन सफल भएको भन्दै उहाँले निर्वाचनलाई सफल बनाउनुपर्ने कुरालाई प्राथमिकता दिनुभएको हो ।
‘निर्वाचनमा देशलाई कोरोना मुक्त अवस्थामा ल्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘सबै पार्टीका अधिवेशन कोरोनाको बाबजुत सफल भएका छन् । निर्वाचन सफल पार्नुपर्छ ।’
विकासको काम हुन नसकेको र यो अहिलेको नभएर पहिलादेखिकै समस्या भएको उहाँले बताउनुभयो । ‘विकासका काम हुन सकेका छैनन्। यो आजको होइन धेरै पहिलाको समस्या हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विकासका कामको कार्यान्वयन समस्या हो । यसमा मन्त्रालयले समन्वय गर्नुपर्ने देखिएको छ ।’