logo
२०८० चैत्र १६ शुक्रवार



महाकालीमा अर्को पक्की पुल बन्ने

मुख्य समाचार |
पढ्नै पर्ने |


महाकालीमा अर्को पक्की पुल बन्ने


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, पुस २३ गते । महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ ।
सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्काे पुल निर्माण हुने भएको हो । महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दुई देशबीच आवतजावत गर्नका लागि महाकाली पुलमा हाल टनकपुर गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

हाल निर्माण हुन थालेको पुलले नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको धारचुला क्षेत्रलाई जोड्ने छ । सो पुल निर्माणका लागि यही सोमबार मात्र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले समझदारीपत्र पारित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।
मन्त्रालयका अनुसार दार्चुला जिल्लाको सदरमुकाम जोड्ने राजमार्गसँग रहेको धाप नजिकको असिकाँडा क्षेत्रमा निर्माण हुने पुलको डिजाइन तथा लागतसमेत तयार भइसकेको छ । दुई वर्षअघि पुल निर्माण हुने क्षेत्रको माटोको परीक्षणसमेत भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा २०७३ सालमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा भारतसँग महाकाली नदीमा चारवटा पुल निर्माण गर्ने सहमति भएको थियो तर सो सहमति हालसम्म कार्यान्वयन हुन सकेको थिएन ।

प्रधानमन्त्री देउवाको यो पटक पनि भारत भ्रमण हुने बेला उहाँको उपस्थितिमा पुल निर्माणका लागि दुई देशका अधिकारीबीच सम्झौता हुने कार्यक्रम रहेको थियो ।
कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको टिङ्करसम्म दुई देशबीच आवतजावत गर्ने पक्की पुल छैन । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा महाकाली नदीले झन्डै चार सय किलोमिटर दूूरी पार गर्ने गरेको छ ।
यो दूूरीमा गड्डाचौकीमा मात्र पक्की पुल निर्माण छ र हाल आंशिक समयका लागि प्रयोगमा आइरहेको छ । महाकाली नदीमा दार्चुला जिल्लाको सदरमुकाम र बैतडी जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने पुरानो झोलुङ्गे पुल छन्, जहाँ भन्सार कार्यालय सञ्चालनमा छन् ।

यसअघि दार्चुलाका जनप्रतिनिधित्व गर्नुहुने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालस्थित भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या सी खाम्पाले भेट गर्नुभएको थियो । सो अवसरमा महाकाली नदीमा पुल निर्माणको विषयको सहमतिलाई अन्तिम रूप दिने विषयमा छलफल भएको थियो ।

सबै जिल्लामा संयन्त्र
लागूऔषधसम्बन्धी मुद्दा तथा घटनालाई अनुसन्धान तथा तहकिकात गर्नका लागि सबै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई लागूूऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो । सरकारले राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । एसिड आक्रमणबाट पीडित महिला मुस्कान खातुनलाई आर्थिक सहायतास्वरूप तीन लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि बैठकले
गरेको छ ।

सरकारले प्रहरी कर्मचारीको सेवा सुविधा थपसहितको व्यवस्था गर्न प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गरेको छ । नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने अधिकारी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
निजगढदेखि कोल्हवीको ३३ केभी सबस्टेसन निर्माणका लागि दुई बिघा जग्गा प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा झापाका सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।
वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला पूर्वाधारका आयोजनाको क्षेत्रभित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिने निर्णय भएको छ । नेपाल राजपत्रको नियमित अङ्क साताको दुई पटक सोमबार र बिहीबार प्रकाशनका लागि स्वीकृति प्रदान गरेको छ ।

१० अर्ब ऋण सहायता
आर्थिक वृद्धि तथा उत्थानशीलताका लागि जापान सरकारबाट प्राप्त हुने करिब १० अर्ब ३९ करोड रकम ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोेकेको छ । यसैबीच भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?