देवबहादुर कुँवर
काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको विभिन्नस्थानमा छरिएरबसेको लोपोन्मुख आदिवासी जनजाति ‘सोनाहा’ लाई संरक्षण गरिने बताउनुभएको छ ।
बर्दियाको राजपुर तथा गेरुवा, कैलालीको चिसापानी र कञ्चनपुरको ऐरी लगायतका स्थानमा बसोवास गर्दै आएको सोनाहा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्न माग गर्दै, नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
त्यस अवसरमा उहाँले कुनै पनि जातजातिको मौलिक पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएकाले सोनाहा जातिको भाषा, संस्कृति, सामाजिक परम्परा र रितिरिवाज बचाउनुपर्नेमा जोड दिनुभयो । ‘लोपोन्मुख जातिलाई बचाउनु र जोगाउनु पर्छ, यो हामी सबैको दायित्व हो’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
नेपाल सरकारको सुचीकृत परेका ६० वटाभन्दा बढी आदिवासी जनजातिहरु मध्ये कुसुण्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा र कुसवाडिया अन्तरगत पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधियालाई लोपोन्मुख जातिमा राखेको छ ।
वनजंगल नजिक असुरक्षित बसोबाससँगै कर्णाली र महाकालीसहित नदी किनारामा सुन चाल्ने (बालुवामा सुन खोज्ने) र माछा मार्ने यो जातिको मुख्य पेशा हो । २०६८ सालको जनगणना अनुसार, सोनाहा जातिको जनसङ्ख्या करीव १२ सय रहेको छ ।
सोनाहा जातिको विभिन्न समस्या लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले यस जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशअन्तर्गत पर्ने बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा यस समुदायको मुख्य बसोवास रहेको छ, प्रदेश प्रमुख शेरचनले भन्नुभयो– यो लोपोन्मुख जति हो, यसको संरक्षणका लागि अल्पसङ्ख्यक समुदायमा समावेश गर्नुपर्ने माग उहाँहरुको छ ।
सर्वोच्च अदालतले छ वर्षअघि नै यस समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गर्न परामदेश जारी गरेपनि सरकारबाट औपचारिक निर्णय नहुँदा राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षाभत्ता लगायत सेवासुविधाबाट बञ्चित हुनुपरेको समस्या उहाँले सुनाउनुभयो ।
राजापुर नगरपालिका मेयर शिवप्रसाद चौधरीले यस वर्षको बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित बर्दियाका किसानलाई उचित राहात, कर्णाली नदी नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि प्रयाप्त वजेट र सोनाहालाई लोपोन्मुख जातिमा समावेशीको माग राख्नुभयो ।
प्रधानमन्त्री देउवाले गत कात्तिकको अन्तिम सातातिर आएको बेमौसमी वर्षाका कारण प्रभावित बर्दियाको राजापुर, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी र सुर्खेतको स्थलगत निरीक्षण गर्नुभएको थियो । राजापुर कर्णाली नदीले दुईतिरबाट घेरिएको बस्ती हो ।
प्रतिनिधिसभा सदस्य एवं सांसद सन्तकुमार चौधरी, संविधानसभा सदस्य हरि श्रीपाईली र संघर्ष समितिका संयोजक बलबहादुर सोनाहाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।