logo
२०८१ मंसिर ९ आईतवार



‘ढुङ्गेधाराको कथा भगीरथ राजासँग जोडिएको छ’

मुख्य समाचार |
समाज |


‘ढुङ्गेधाराको कथा भगीरथ राजासँग जोडिएको छ’
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेका ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । तस्बिर: रमेश गिरी/रासस


भक्तपुर, पुस २८ गते । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गर्नुभएको छ । उहाँले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गर्नुभएको हो ।

उहाँलाई नगरप्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराउनुभएको थियो । फोहाेर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उहाँले यहाँको गुरुयोजना, अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्खलगायतका संरचनाका विषयमा बताउनुभयो ।

शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगीरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजा भगीरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।’

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गर्नुभयो । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?