अर्जुन काफ्ले
स्याङ्जा, माघ १५ गते । पतिको निधनपछि पेसागत विरासत धान्ने महिला कमै हुन्छन् । त्यसमा पनि लोप हुन लागेको प्रथाजनित पेसाकै पछि लाग्ने महिला त विरलै पाइन्छ । त्यस्तै, विरल महिलामध्येमा पर्नुहुन्छ स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–१, राजास्वाराकी ८० वर्षीय रूपा कटवाल।
उहाँको काम गाउँको अग्लो र माझ पर्ने ठाउँमा गएर सबैले सुन्ने गरेर चर्को स्वरमा सूचना प्रवाह गर्ने हो । उहाँले दिएको जानकारीपछि मात्र गाउँले कार्यक्रममा जाने गर्दछन् । उहाँले पतिको निधनपछि धान्न थालेको पेसा नै कटवालहो । यो परम्परागत सञ्चार माध्यम हो । नेपालका कुनाकन्दरामा अझै पनि यो प्रथा जीवित नै छ । त्यसरी जीवित राख्ने काममा रूपाको विशेष योगदान रहेको छ ।
ससुरा हुँदै श्रीमान्को जिम्मामा आएको कटुवालको जिम्मेवारी श्रीमान्को निधनपछि सम्हालेको पनि १७ वर्ष भयो । गाउँमा कुनै कार्यक्रम भए यहाँका पाँच गाउँका ११३ घरधुरीमा सूचना प्रवाह गर्ने उहाँको जिम्मेवारी हो ।
सूचना र सञ्चारले नयाँ फड्को मारिरहँदा पुरानै प्रथा अनुसार सन्देश दिने काम आफूले गर्न पाएकोमा रूपालाई गर्व छ । गाउँघरमा कुनै कार्यक्रमको खबर मोबाइलबाट हुने भए पनि आफ्नो काम नै सबैका लागि विश्वासिलो रहेको उहाँले बताउनुभयो ।
आफूलाई जिल्लाको एक मात्र महिला कटवालरहेको दाबी गर्दै रूपाले सूचना प्रवाह गर्न वडा अध्यक्ष, कार्यक्रम संयोजक, सङ्घ, संस्थाका प्रमुखले आफूलाई मोबाइलबाट घोक्न लाउने गरेको बताउनुभयो ।
शाहकालीन समयमा जिल्ला प्रशासनको मुखिया सरहको सूचना वाहकको काम गर्ने पद कटवालपेसा गणतन्त्र आउदाँसमेत कायमै रहेको हो । सूचना प्रवाह गरेबापत रूपाले दैनिक घोकेर दुई झुत्ती मकै, एक एक पाथी धान र कोदो तथा वार्षिक एक मानो चामलमा पाउनुहुन्छ ।
श्रीमान्बाट जिम्मेवारी पाएपछि काम गरिरहेको र कम्तीमा पुरानो पेसालाई राज्यले केही गरेर संरक्षण गरे राम्रो हुने रूपा कटुवालको सुझाव छ । दुई छोरीको विवाह भइसकेको बताउँदै रूपाले कटवालपेसाको कमाइले एक्लो ज्यान पाल्नसमेत धौधौ रहेको बताउनुभयो । कामैका कारण आफ्नो नाम कटवालरहेको बताउँदै रूपाले आफ्नो शेखपछि घरमा अरू पेसा अँगाल्ने कोही नहुँदा गाउँमा पहिलो र अन्तिम महिला कटवालहुने दाबी गर्नुभयो । बाइसेचौबीसे राजाको पालादेखि कायम रहेको कटवालपेसा आधुनिक सञ्चारको सुविधासँगै अब इतिहासमा सीमित हुने अवस्थामा आएको पवनकाजी अधिकारीले बताउनुभयो । सबैको हातमा मोबाइल फोन रहेको छ, गाउँ घरमा हुने कार्यक्रमको मोबाइलबाट खबर पाउने पनि गरेको छु तर कटुवालले नफुकेसम्म कार्यक्रमको विश्वास आफूलाई नहुने गरेको अधिकारीले बताउनुभभयो ।
पाँच नगरपालिका र छ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जाको धेरै ग्रामीण ठाउँमा कटवालप्रथा कायमै छ । यहाँका धेरैजसो गाउँमा अझै पनि कटुवालको आवाज नै सूचनाको मुख्य स्रोत भएको स्थानीयको भनाइ रहेको छ । रूपाजस्तै देशको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारीमा ५७ वर्षीय नरबहादुर कटुवाले सूचना र सन्देश परम्परागत शैलीमा प्रवाह गर्ने गर्नुभएको छ ।