logo
२०८१ मंसिर ११ मंगलवार



सबै शहीद मुलुकका सच्चा सपूत :प्रम

मुख्य समाचार |


सबै शहीद मुलुकका सच्चा सपूत :प्रम


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको शहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सम्भव भएको र जनताको शासन स्थापित हुन सकेको बताउनुभएको छ । शहीद दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत हुन् भन्नुभएको छ ।


प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र सङ्घर्षमा होमिएकै कारण शहीदहरूको स्थान उच्च रहेको सन्देशमा चर्चा गर्नुभएको छ । “आज हामी जे जस्तो स्वतन्त्रता र आत्मसम्मानसाथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे जस्तो पहुँच स्थापित हुन सकेको छ तथा जे जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै शहीदहरूको योगदानबाट नै सम्भव भएको हो,” प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ ।

उहाँले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि जीवन आहुति दिनुहुने ज्ञातअज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वि.सं. २००७ को एकतन्त्रीय जहानियाँ राणाशासनविरुद्धको क्रान्ति, २०४६ सालको परिवर्तन र २०६२/६३ को परिवर्तन शहीदहरूकै त्याग, तपस्या र बलिदानबाट सम्भव भएको चर्चा गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “शहीदले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” उहाँले सन्देशमा लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनुभई स्वास्थ्योपचार गराइरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?