जनार्जन खत्री
सर्लाही, माघ १६ गते । स्पष्ट दृष्टिकोण, योजना र काममा समन्वय भए पूर्वाधार विकास निर्माणका काममा सफलता पाउन अन्तिम समय नै कुर्नु पर्छ । त्यसको ज्वलन्त उदाहरण बनेको छ मधेस प्रदेशको सर्लाही जिल्लास्थित बागमती नगरपालिकामा बन्दै गरेको कृत्रिम ताल ।
सङ्घ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले तीन वर्षअघि सरकारी स्वामित्वमा रहेको १२१ बिघा जमिनमा बनाउन थालेको ‘बागमती माछा ताल’ बनिसकेको भने छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले तालमा माछापालन गर्ने योजनाअनुसार संरचना तयार भइरहेको बताउनुभयो । संरचना बनी नसक्दै यसको प्रयोजन र नाम परिवर्तन भएको छ । आन्तरिक तथा बाह्य पर्यटकले यसको आकर्षण माछा ताल होइन पर्यटकीय गन्तव्यका रूपमा प्रस्ट्याएका छन् । माछा पोखरी बनी नसक्दै उक्त संरचना पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । तालको अहिले देशभर मात्र होइन भारतमा पनि चर्चा छ । ताल अवलोकन गर्न आउनेको भीड थेगी नसक्नु छ । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा बागमती माछा ताल होइन भाइरल बनेको छ भरत ताल ।
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाको पहलमा यो सबै काम भइरहेका कारण सहृदयीले तालको नाम नै राखिदिएका हुन्–भरत ताल ! ताल वरपर सञ्चालन भइरहेका होटल व्यवसायदेखि सवारीसाधनमा समेत भरत ताल नै लेखिएको छ । बनी नसके पनि सर्लाही र रौतहटको सीमास्थित बागमती नदीनजिकै निर्माणाधीन तालमा बागमतीकै पानी ल्याएर हालिएको छ । २०७९ असोज मसान्तसम्म सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
तालमा अहिले जेटबोट, मोटरबोट र मिनी क्रुज सञ्चालनमा छन् । मोटरबोट सञ्चालन बागमती इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक गौतम खड्काले पछिल्ला दिनमा तालको अवलोकन गर्न आउने ह्वात्तै बढेको बताउनुभयो । “टिकटक र अन्य सामाजिक सञ्जालहरूमा भाइरल नै भएपछि विभिन्न अवसर पारेर तालमा पारिवारिक जमघट गर्न आउने बढेका छन्,” खड्काले भन्नुभयो, “सार्वजनिक बिदाको दिन त मोटरबोटमा मानिस चढाएर घुमाउनै भ्याइँदैन् ।”
निर्माणाधीन ताल परिसरमा होटललगायत अन्य व्यापार व्यवसाय निकै फस्टाउँदा आन्तरिक रोजगारी सिर्जना भएको स्थानीयवासी बताउँछन् । बागमती नगरपालिका–११, कर्मैयाका स्थानीयवासी जीवन आचार्यले आफ्नो ठाउँमा निर्माण भइरहेको ताल पर्यटकीय गन्तव्य बन्दै गएपछि खुसी लागेको बताउनुभयो । “ताल परिसरमा अप्रत्यासित रूपमा पर्यटक ओइरिएका छन्, यसबाट हामी पनि आश्चर्यचकित भइरहेका छौँ,” आचार्यले भन्नुभयो, “व्यवस्थित ढङ्गले ताल निर्माण गरे भविष्यमा मुलुककै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।”
पूर्व–पश्चिम राजमार्गस्थित बागमती पुलबाट करिब तीन किलोमिटर दक्षिणमा ताल रहेको छ । निर्माणाधीन ताल वरपर भौतिक संरचना निर्माणदेखि सौन्दर्यीकरणको काम जारी रहेको बागमती नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिका कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा ताल निर्माणको काम चलिरहेको हो । मधेस प्रदेश सरकारको ८० प्रतिशत, स्थानीय सरकारको १५ प्रतिशत र सङ्घीय सरकारको पाँच प्रतिशत लागत साझेदारीमा ताल बन्दै गरेको हो । कुल लागत ६५ करोड रुपियाँ रहेकोमा हालसम्म ४५ करोड रुपियाँ खर्च भइसकेको छ ।
ताल निर्माण सम्पन्न भइसक्दा पोखरीको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको आकृतिमा शिव–पार्वतीको ठूलो मूर्ति रहने छ । शिवको जटाबाट पानी झरेको स्वरूप निर्माण हुनेछ । तालको बीच भागमा होटल निर्माण हुनेछ । ताल आसपासमा ३० वटा वनभोज स्थल, ५० चौतारा र प्रतीक्षालय निर्माण गरिनेछ । दक्षिणतर्फको भागमा चलचित्र छायाङ्कनको क्षेत्र बनाउने योजनासमेत रहेको र त्यसका लागि चलचित्र विकास बोर्डबाट प्रस्तावसमेत आएको नगरपालिकाले जनाएको छ ।
बागमती नगरपालिकाका प्रमुख थापाले पर्यटकीय विकाससँगै स्थानीय स्तरमा आयस्रोतको माध्यम बनाउने उद्देश्यले ताल तयार गरिरहेको बताउनुभयो । नदी क्षेत्र नजिकै ताल निर्माणले तटबन्ध, सिँचाइ र वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
ताल एक देखिए पनि यसको महìव र उद्देश्य विभिन्न रहेको नगरप्रमुख थापाले बताउनुभयो । “तालमा माछापालन गर्नेदेखि पर्यटक भिœयाएर नगरको आम्दानी बढाउने हाम्रो प्रमुख उद्देश्य हो,” उहाँले भन्नुभयो, “बनी नसक्दै तालमा देखिएको आकर्षणले हामीलाई धेरै हौस्याएको छ, ताललाई देशको एउटा आकर्षक पर्यटकीय स्थल बनाउँछौँ ।” ताल प्राकृतिक विपत् सामनाका लागि तालिम केन्द्र पनि बन्ने देखिएको छ । त्यसै प्रयोजनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बाढी तथा डुबानको प्रदेशस्तरीय पूर्वतयारी अभ्यास गरिसकेको छ ।