logo
२०८१ बैशाख २१ शुक्रवार



फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

मुख्य समाचार |


फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस


काठमाडौं, माघ २३ गते । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो

‘विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने ।,’ उहाँले भन्नुभयो, ‘१२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।’

कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यसैगरी, काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।

कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ ।

त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?